हाम्रो शरिरको सबैभन्दा संवेदनशील अंगमध्ये एक हो, मस्तिष्क । मस्तिष्कलाई हाम्रो मुटुले अक्सिजनसहितको रगत पठाइरहेको हुन्छ जसका कारण हामीले गर्ने सबै क्रियाकलाप नियन्त्रित हुन्छन् ।
जब मस्तिष्कमा रगत प्रवाहमा बाधा हुन्छ, त्यो अवस्थालाई मस्तिष्कघात भनिन्छ । मस्तिष्कमा भएका रक्तनलीबाट रक्तस्राव भएको अवस्थालाई पनि मस्तिष्कघात भनिन्छ ।
मस्तिष्कका नसाहरु सुक्दा, फुट्दा, खुम्चिँदा वा तिनले राम्रोसँग काम नगर्दा मस्तिष्कमा अक्सिजन आपूर्ति रोकिन्छ र मस्तिष्कले काम गर्न सक्दैन । यो अवस्थालाई नै मस्तिष्कघात भनिन्छ ।
टाउकोमा चोट लाग्दा, रगतसम्बन्धी औषधिको लापारवाही तथा उच्च रक्तचाप, मुटुको समस्या तथा कोलेस्ट्रोल, मधुमेहजस्ता समस्याका कारण पनि मस्तिष्कघात हुनसक्छ । धूमपान तथा अत्यधिक मदिरा सेवन मस्तिष्कघातका कारक हुन् ।
हाम्रो शरिरको केन्द्रीय नियन्त्रण कक्ष भएकाले मस्तिष्कमा समस्या हुँदा ज्यानै जान सक्छ । समयमा उपचार पाएर ज्यान जोगाउन सकिए पनि शरिरमा अन्य समस्याहरु देखिने सम्भावना अत्यधिक हुन्छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार हरेक वर्ष डेढ करोडभन्दा धेरै मानिसहरु मस्तिष्कघातको शिकार हुने गरेका छन् । तीमध्ये ५८ लाखभन्दा धेरैको मृत्यु हुन्छ । विश्वभर प्रत्येक ६ मानिसमध्ये एक जनालाई मस्तिष्कघात हुने गरेको पाइएको छ ।
कस्ता मानिस हुन्छन् मस्तिष्कघातको जोखिममा ?
मस्तिष्कको रक्तनलीमा रक्तचाप उच्च भएमा रक्तनली फुट्ने भएकाले उच्च रक्तचाप भएका व्यक्तिहरुलाई मस्तिष्कघात हुने सम्भावना अत्यधिक हुन्छ ।
५० बर्ष उमेर नाघेका व्यक्तिहरु, मधुमेह, उच्च रक्तचाप भएका बिरामीहरुले यी रोगका औषधीहरु प्रयोग नियमित रुपमा नगर्दा, तनाव, चिन्ता बढी लिँदा तथा मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरुमा मस्तिष्कघातको समस्या बढी देखिन्छ ।
के हुन् लक्षण ?
– स्पष्ट बोल्न नसक्ने
– एउटा आँखा धमिलो देखिने वा दृष्टि कमजोर हुने
– अचानक सहनै नसक्ने गरी टाउको दुख्ने
– पसिना आउने, होस हराउने
– अत्यधिक बढी वान्ता हुने
के मस्तिष्कघातको उपचार सम्भव छ ?
थ्रोम्बोलाइटस्टक एजेन्टले थ्रोम्बलको समाधान गर्न सक्छन् र मस्तिष्कमा रक्त प्रवाहलाई पहिलेको अवस्थामा फर्काउन पनि सक्छ । यो उपचार पद्धतिबाट मस्तिष्कका कोषिकाहरुलाई खराब हुनबाट रोक्न वा मस्तिष्कघातपछि हुनसक्ने अक्षमतालाई कम गर्न सकिन्छ ।
मस्तिष्कघात हुने सम्भावना भएमा विभिन्न थेरापीको सहयोग लिन सकिन्छ । तीमध्ये एक्टिभ र प्यासिभ एक्सरसाइज, पिएनएफ एक्सरसाइज, मालिस, मनोपरामर्श, स्पिचथेरापीलगायतका विधिहरु धेरै प्रयोग गरिएका छन् ।
कसरी बच्ने ?
– धूमपान, मदिरासेवनलगायत नशालु पदार्थको सेवन नगर्ने
– नियमित व्यायाम गर्ने
– शरीरको तौललाई सन्तुलनमा राख्ने
– तनाव, चिन्ता नलिने
– बढी मसलायुक्त खाना नखाने
प्रतिक्रिया दिनुहोस