किन पाउन सकेन नेपाल एयरलाइन्सले जापान र कोरिया उडान अनुमति ?

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०७५, १७ : ५७
किन पाउन सकेन नेपाल एयरलाइन्सले जापान र कोरिया उडान अनुमति ?

युरोपियन युनियनले नेपाली एयरलाइन्सलाई कालोसूचीमा राखेकाले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले जापान र दक्षिण कोरियामा उ उडान अनुमति  पाउन सकेको छैन । एयरबसको ए ३३० जहाज ल्याएको एयरलाइन्सले जापान र कोरिया उडान गर्ने योजना बनाएको थियो ।

जापानको टोकियो र कोरियाको इन्छन विमानस्थलमा उडान गर्न स्लट(समयतालिका) पाए पनि त्यहाँको नियामक निकायले अनुमति (अन्तर्राष्ट्रिय एओसी) नदिँदा अनुमति पाउन ढिला भएको छ । युरोपियन युनियनको कालोसूचीको कारण देखाउँदै जापान र कोरियाले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिन ढिला गरेको प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार कोरियाको उड्डयन सुरक्षा संसारकै कडा मानिन्छ। त्यसैले उनीहरू यहीँ आएर उडान सुरक्षा अवालोकन गरेरमात्र अनुमति दिन्छन् ।

‘कोरियामा नेपाल एयरलाइन्सले उडान अनुमति पाउनु भनेको इयूको सूचीबाट उम्कनु बराबर हो, हामी सुरक्षामा अब्बल छौं भन्ने पुष्टि हुन्छ,’ गौतमले भने ।

गत असार १४ गते पहिलो ए३३० जहाज ल्याएको एयरलाइन्सले दोस्रो जहाज साउन ११ मा ल्याएको थियो । २७४ सिट भएका ती जहाज लामो दुरीमा उडान गर्ने योजना बनाएको एयरलाइन्सले उडान अनुमति नपाउँदा अहिलेकै गन्तव्यमा उडान गरिररहेको छ ।

कोरियाको उडान नियामक निकायको टोली यहाँ आएर सुरक्षा अडिट गर्न इच्छुक भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए ।

‘उनीहरुले यहाँ आएर गर्ने अडिटको गाइडलाइन्स पठाएका छन्, हिजोमात्र त्यो हामीले पाएका छौं” उनले भने, ‘गाइडलाइन्स अनुसार कोरियाको टोलीलाई आफ्नै खर्चमा अब नेपाल एयरलाइन्सले बोलाउन सक्छ ।’

इयूले केही वर्षअघि नेपाली एयरलाइन्सलाई कालोसूचीमा राखेको थियो । जुन अझै हट्न सकेको छैन ।

सामान्यत: ८ घण्टाको व्यावसायिक उडान गरिने जहाज अहिले ३ घण्टाको उडानमै केन्द्रीत हुँदा एयरलाइन्सले नोक्सानी बेहोरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस