बालुवाटार नै आर्थिक अनियमितताको चंगुलमा, पानी खरिदमा मासिक १२ लाखभन्दा बढी खर्च

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०७५, ०९ : ०३
बालुवाटार नै आर्थिक अनियमितताको चंगुलमा, पानी खरिदमा मासिक १२ लाखभन्दा बढी खर्च


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार नै आर्थिक अनियमितताको घेरामा पर्दै गएको छ । आर्थिक मितव्ययितामा जोड दिइरहेका र म भ्रष्टचार गर्दिन र अरुलाई पनि भ्रष्टचार गर्न दिन्न भन्ने प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटार नै आर्थिक अनियमितताको चंगुलमा पर्न थालेको छ । 
प्रधानमन्त्री कार्यालयमै करिब ८० लाखको सफ्टवेयर खरिदमा नै आर्थिक अनियमितताको प्रश्न उठेको छ ।
हेलो सरकारको क्षमता वृद्धिका लागि गत आर्थिक वर्ष कल सेन्टरको डिभाइस र सफ्टवेयर ८० लाखमा खरिद भएको थियो । तर, उक्त खरिद प्रक्रियामा मिलेमतो र अनियमितता भएको भन्दै मन्त्रिपरिषद् कार्यालयले छानबिन गरेको थियो । आर्थिक प्रशासन र आइटी विभागको मिलेमतोमा अनियमितता भएको भन्दै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालको संयोजकत्वमा बैठक नै बसेको थियो ।​​

पानी खरिदमा मात्रै १२ लाखभन्दा बढी खर्च
प्रधानमन्त्रीनिवास बालुवाटारमा ट्यांकरको पानी खरिदमा मात्रै एक महिनामा १२ लाखभन्दा बढी खर्च भएको पाइएको छ । तीन महिनाको ट्यांकरको पानीको बिल मात्र ३७ लाख उठेको छ । पानीको बिलमात्र यति धेरै उठ्दा त्यहाँ अनियमिता भएको प्रष्ट देखिन्छ । 
प्रधानन्यायाधीश र सभामुखको सरकारीनिवासमा ल्याइएको ट्यांकरको पानीको बिल मात्र ६ लाख उठेको छ । यो बिलमा पिउने पानीमा भएको खर्च जोडिएको छैन । 
प्रधानमन्त्रीनिवास बालुवाटारमा खाना पकाउन ट्यांकरको पानी प्रयोग हुँदैन । ट्यांकरमा ओसारिएको पानी गाडी र मोटरसाइकल धुन प्रयोग हुने गरेको भवन सम्भार डिभिजन कार्यालयले जनाएको छ । बगैँचाका रूख–बिरुवामा पनि ट्यांकरकै पानी सिन्चित गरिन्छ । भएको डिप बोरिङ प्रयोग गरिँदैन ।
‘भिआइपीहरूलाई ट्यांकरमा पानी पठाउँछौँ । त्यो पानी मोटरले तानेर त्यहाँका कर्मचारी गाडी, मोटरसाइकल धोइरहेका हुन्छन् । तर, हामीले केही भन्न सक्ने स्थिति हुँदैन,’ एक कर्मचारीले भने ।​



प्रचण्डको पालामा जारकै पानी 
प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान छ । तर, सुन्दा अनौठो लाग्छ, त्यो धारामा पानी आउँदैन । पुष्पकमल दाहाल प्रचण्डको पालासम्म सामान्य जारकै पानी प्रयोग हुन्थ्यो । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बजारमा बिक्रीका लागि राखिएका पानी र दूधमा कोलिफर्म भेटिएको समाचार आएपछि अक्वा हन्ड्रेड प्रयोग गर्न थालिएको हो । देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ ।
ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख खर्च भयो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको निवासमा करिब ३० लाखबराबर त जारको पानी खरिद गरिएको छ । 

सञ्चारमा ८८ लाख
राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीहरूको निवासमा जोडिएको टेलिफोन र इन्टरनेटको एक वर्षको बिल ८८ लाख उठेको भवन सम्भार डिभिजन कार्यालयका उपसचिव रामकृष्ण पन्थीले बताए ।
घरभाडामा ८१ लाख
शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा क्वार्टर नपुगेपछि केही मन्त्री बाहिर भाडामा बसेका थिए । उनीहरूको घरभाडामा ८१ लाख खर्च भएको पन्थीले बताए । भाडामा बस्ने मन्त्रीलाई सरकारले प्रतिमहिना ४० हजारका दरले भाडा शुल्क दिने गरेको छ ।

झण्डै दुई करोडको फर्निचर
गत आर्थिक वर्ष राष्ट्रपतिदेखि मन्त्रीसम्मको निवासमा एक करोड ९० लाखको फर्निचर किनिएको छ । फर्निचर शीर्षकमा भएको खर्चमध्ये सबैभन्दा धेरै सोफा र कुर्सीमा भएको छ ।​

मसलन्द र पर्दा–कार्पेटमा २ करोड खर्च
विशिष्टहरूको कार्यालयसम्बन्धी खर्चमा २ करोड खर्च भएको छ । यो खर्च किचेन, मसलन्द, पर्दा र कार्पेटमा भएको हो ।

 मर्मतमा १ करोड १० लाख खर्च
सामान्य मर्मतमा ६० लाख खर्च भएको छ । यसमा धारा, मेसिनरी औजार मर्मत खर्चमा गरी एक करोड १० लाख खर्च भएको छ । एसी, इन्डक्सन चुलो, ल्यापटपलगायत सबैको मर्मत खर्च यसैमा समेटिएको छ ।
 

प्रतिक्रिया दिनुहोस