भरतपुर महानगरका दुग्ध उत्पादक किसानलाई राहत, आगामी वर्षको लागि ३५ लाख रकम विनियोजन

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०७५, १७ : ३६
भरतपुर महानगरका दुग्ध उत्पादक किसानलाई राहत, आगामी वर्षको लागि ३५ लाख रकम विनियोजन

 

चितवन । भरतपुर महानगरका दुग्ध उत्पादक किसानहरुलाई राहत मिलेको छ । भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक किसानहरुलाई प्रतिलिटर २५ पैसा अनुदान दिन थालेपछि केही राहत मिलेको हो । गत वर्षदेखि भरतपुर महानगरले दुग्ध उत्पादक किसानहरुलाई अनुदान दिन सुरु गरेको थियो ।  
‘महानगरमा पशुपालन क्षेत्रमा विकास र समृद्धि ल्याउनको लागि भरतपुर महानगरले दुग्ध उत्पादक किसानहरुलाई राहत दिएको हो, चितवनका अन्य नगरपालिकामा यो सुविधा छैन, २५ पैसा भए पनि महानगरका किसानलाई राहत मिलेको हो’ भरतपुर महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गत रहेको पशु सेवा शाखाका प्रमुख विकास श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार यो कार्यक्रम आगामी वर्ष पनि चलिरहन्छ ।
दुग्ध विकास संस्थानले टीएस् बापतको मूल्य कटौती गरेको समयमा भरतपुर महानगरले उपलव्ध गराएको अनुदानले दुग्ध किसानलाई केही राहत मिलेको महानगरको पशु सेवा शाखाले जनाएको छ ।
आगामी वर्षको लागि रले दुग्ध उत्पादक किसानलाई राहत दिनको लागि ३५ लाख बजेट विनियोजन गरेको छ । दुग्ध सहकारीमार्फत भरतपुर महानगरले किसानलाई यो सुविधा दिएको हो ।
दुग्ध सहकारीमा दूध ल्याउने किसानले मात्र यो सुविधा पाउने महानगर पुश सेवा प्राविधिक नरेन्द्रबहादुर पाण्डेले जानकारी दिए । भरतपुर महानगरमा दैनिक ७० हजार लिटर दैनिक दूध उत्पादन भइरहको भरतपुर महानगर पशु सेवा शाखाले जनाएको छ ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव लोकनाथ सापकोटाले भरतपुर महानगरको अनुदानले केही राहत मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अनुदानलाई महानगरले अझ बढाओस् भन्ने किसानको माग छ ।’ भरतपुर महानगरको उत्पादन भएको दूध झन्डै आधाको हाराहारीमा चितवन जिल्ला बाहिर जाने गरेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस