काम गर्न छोडेर राजनीति गर्ने कर्मचारीको विकल्प सोच्न मन्त्रालय बाध्य हुन्छ : मन्त्री यादव

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०७५, १५ : ५०
काम गर्न छोडेर राजनीति गर्ने कर्मचारीको  विकल्प सोच्न मन्त्रालय बाध्य हुन्छ :  मन्त्री यादव

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले काम गर्न छोडेर राजनीति गर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आईतबार बसेको बैठकमा मन्त्री यादवले आयल निगमका कर्मचारीहरु कर्मचारी कम र नेता बढी भएको भन्दै त्यस्ता कर्मचारीको व्यवहारलाई मन्त्रालयले नसहने बताउनुभएको हो ।
कर्मचारी नेता बन्दा काम गर्न अप्ठ्यारो भएको भन्दै उहाँले त्यस्ता कर्मचारीको क्रियाकलापप्रति चासो राख्न समितिको ध्यानाकर्षण गराउनुभयो । मन्त्री यादवले कर्मचारीको व्यवहार नसच्चिए त्यस्ता कर्मचारीको विकल्प सोच्न मन्त्रालय बाध्य हुने चेतावनी दिनिुभयो । उहाँले निगममा महाप्रबन्धक नियुक्त गर्नका लागि परीक्षा भईसकेको भएपनि राष्ट्रिय आपूर्ति कम्पनी गठन भएकाले तत्काल नियुक्त गर्ने नगर्ने भन्नेमा दुविधा भएको स्पष्ट पार्नुभयो । उहाँ यसबारे छलफल भईरहेकाले मन्त्रालय छिटै निर्णयमा पुग्ने स्पष्ट पार्नुभयो ।
मन्त्री यादवले नया ग्यास कम्पनी खोल्नमा रोक लगाएका कारण कतिपय स्थानमा ठुलो समस्या देखिएको उल्लेख गर्दै विषय र स्थान विशेषका आधारमा रोकतोक लगाउनुको सट्टा नियमनमा बढी चासो राख्न समितिलाई सुझाव दिनुभयो ।

आयल निगमका प्रमुख शुशिल कुमार भट्टराईले सामान्य अवरोधले इन्धन आपूर्तिमा असर नपर्ने गरी भण्डारण क्षमता विस्तारको तयारी भईरहेको बताउनुभयो । इन्धन खपतका दृष्टिले प्रदेश नम्बर ३ मा भण्डारण क्षमता बढी बनाउनुपर्ने देखिएकाले ललितपुर, त्रिसुली र चितवनमा भण्डारणगृह गर्ने गरि तयारी भईरहेको उहाँले स्पष्ट पार्नुभयो ।
समितिले इन्धन आपुर्ति, इन्धनमा लाग्ने कर, मुल्यवृद्धि तथा संघीय संरचना अनुसार प्रदेशगत इन्धन भण्डारणका लागि भईरहेको कामबारे जानकारी लिन सम्बन्धीत मन्त्री र आयाल निगमका प्रमुखलाई बैठकमा बोलाएको हो । बैठकमा समिति सदस्यहरुले पेट्रोलियम पदार्थ आपूर्ति, खाना पकाउने ग्यास, तथा आवश्यक भण्डारण क्षमताको विस्तारमा निगमबाट भईरहेका प्रयास बारे जिज्ञासा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस