सरकारले महाअभियोगको प्रस्ताव ल्याउँदैन : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०७५, १५ : २३
सरकारले महाअभियोगको प्रस्ताव ल्याउँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ताको दुरुपयोग नगर्ने स्पष्ट पार्नुभएको छ । राष्ट्रिय सूचना दिवस २०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगले आईतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले सत्ताको दुरुपयोग नगर्ने बताउँदै पारदर्शिता र सभ्य समाज निर्माणको दिशामा लागेको दावी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले यसअघिको सरकारले बहुमतका आडमा महाअभियोगको प्रस्ताव सदनमा ल्याएको भन्दै दुईतिहाई छ भन्दैमा वर्तमान सरकारले भने यस्ता प्रकारको दुरुपयोग नगर्ने स्पष्ट पार्नुभयो ।  त्यस्तै उहाँले कांग्रेसलगायत सबैलाई विषयवस्तु अध्ययन गरेर मात्र सरकारको विरोध गर्न सुझाव दिनुभयो । सरकारले राष्ट्रलाई आवश्यक पर्ने कुराहरुको संशोधन गर्दै जाने भन्दै प्रधानमन्त्री ओलीले कसैको निर्देशनमा विरोधमा उत्रनुको कुनै तुक नभएको टिप्प्णी गर्नुभयो । उहाँले भदौ १ गतेदेखि जारी भएको देवानी संहिता धेरै अघिदेखि नै छलफलमा आएको र १ वर्षअघि नै पारित भएको भन्दै ऐन नियम पालना गर्न र गराउनका लागि बनाएको धारणा राख्नुभयो ।  प्रधानमन्त्री ओलीले सबैलाई समान हक अधिकार प्रदान गर्न सरकार तत्पर रहेको बताउनुभयो । उहाँले सरकारको सूचना आफूले पाउनुभन्दा पहिले नै चुहावट हुने गरेको भन्दै गोपनियताको ख्याल गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक र पहुचलाई आमजनतामाझ पु¥याउन विद्यालय स्तरदेखि बिभिन्न तह र तप्कामा छलफल चलाईएको बताउनुभयो ।
२०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भई भदौ ३ गतेदेखि लागु भएको स्मरणमा दिवस मनाइने गरेको हो । हाल कक्षा ६, ७, ९ र ११ को पाठ्यक्रममा सूचना हकको विषय समावेश छ भने नेपाल सरकारका २२ वटा तालिम केन्द्रको पाठ्यक्रममा सूचनाको हक समावेश गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस