मैले ह्वाइट हाउसका कर्मचारीलाई सहयोग गर्न भनेको छु : ट्रम्प

आइतबार, ०३ भदौ २०७५, १४ : २३
मैले ह्वाइट हाउसका कर्मचारीलाई सहयोग गर्न भनेको छु : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका कर्मचारी डन म्याकगान र अरु कर्मचारीलाई गत राष्ट्रपतीय चुनावमा मस्कोसँगको सम्भावित साँठगाँठका विषयमा भइरहेको अनुसन्धानमा सहयोग गर्न आदेश दिइसकेको बताउनुभएको छ ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सले म्याकगानले विशेष अनुसन्धाता रोबर्ट मुलरले गरिरहेको अनुसन्धानमा मद्दत गरेको छापेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिनुभएको हो । मुलरको टोलीले म्याकगानसँग तीन पटकमा ३० घण्टा भन्दा बढी अन्तर्वार्ता लिएको थियो ।

“मैले ह्वाइट हाउसका सहयोगी डन म्याकगान समेतका सबै कर्मचारीलाई मुलरको अनुसन्धान टोलीलाई सहयोग गर्न अनुमति दिएकै हो,” ट्रम्पले ट्वीटमा भन्नुभएको छ । “यस बाहेक हामीले १० लाख पृष्ठ दस्तावेज पनि दिएका छौं । इतिहासमा यो नै सबैभन्दा पारदर्शी हो । कुनै साँठगाँठ छैन, कुनै अबरोध पनि छैन । अनावश्यक खेदो मात्र ।”

ट्रम्पको विचारमा विशेष अनुसन्धाता रोबर्ट मुलरको अनुसन्धान आफ्नो राष्ट्रपतीय कार्यभारलाई बदनामी गर्ने मात्र हो, र उहाँले यो अनुसन्धान तत्काल टुङ्ग्याउनु पर्दछ भनी बारम्बार दबाब दिइरहनुभएको छ ।

टाइम्सका अनुसार म्याकगानमाथि संघीय जाँच ब्यूरोका निर्देशक जेम्स कोमेको बर्खास्ती, विशेष अनुसन्धान टोलीका प्रमुख मुलरमाथि राष्ट्रपतिले गर्न लागेको कारबाही लगायतका पेचिला प्रश्नहरु सोधेको बताइएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस