सरकारको आधा वर्ष गफ गरेर गयो, विकासको आश कहिलेसम्म देखाइरहने ?

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०७५, १० : ४२
सरकारको आधा वर्ष गफ गरेर गयो,  विकासको आश कहिलेसम्म देखाइरहने ?

काठमाडौँ । केपीओली सरकार गठन भएको ६ महिना पूरा हुन लागेको छ । सरकारले यस अवधिमा भए गरेका कामको फेहरिस्त भन्दै पाँच महिने प्रगति विवरण सार्वजनिक गरेको छ ।

तर सरकारले सार्वजनिक गरेको प्रगति विवरण तथ्यभन्दा फरक रहेको पाइएको छ । वर्तमान सरकारबाट नेपाली जनताले ठूलो आश गरेका थिए । त्यो आशलाई विश्वासमा बदल्न वर्तमान सरकार नराम्ररी चुकेको छ । ठूला सपना देखाउने तर सामान्यभन्दा पनि सामान्य काम पनि नगर्ने प्रवृत्तिले सरकारलाई नराम्ररी गाँजेको छ ।
सरकारको काम गर्ने शैली परम्परागत एवम् लोसे मात्रै छैन, कोही कसैलाई नटर्ने प्रवृत्तिको पनि रहेको छ । सरकार आफ्नै कारणले समस्याको जन्जालमा फसेको छ ।

सरकारले सार्वजनिक गरेको तथ्यांकलाई नेपाली जनताले पत्याउने खालको पनि छैन । साना र दैनिक भोगेको समस्या समाधान गर्न सरकारसकेको छैन । जनताको अपेक्षा विपरित प्रदेश सरकार र स्थानीय निकायले मनलाग्दी कर लगाएका छन् । जसको कारण नागरिकले ठूलो सास्तीपाएकाछन् । संघीयता कार्यान्वय नै हुन नदिने खालको षडयन्त्र भएको बताइए पनि सरकारका कुनै पनि मन्त्री सो बारेमा बोल्न तयार भएका छैनन् । उनीहरु चुपचाप बसेर स्थानीय निकायमा भए काम नलाग्दी व्यवहारलाई सही सलामत भएको स्वीकृति दिएका छन् । सरकार कता हराएको, कता रुमल्लिएको जस्तो देखिएको छ । अर्को शब्दमा सरकार कुहिरोमा हराएको कागजस्तै भएको छ । कुनै पनि दिशा लिन नसकेको र केवल आलोचना बढाउने काममात्रै गरिरहेको छ । सरकारको काम गर्ने शैली समेत पूरानै ढर्राको भएका कारण समस्या जहाँको तहीँ रहेको छ । इतिहासमै पहिलो पटक दुई तिहाई बहुमतको सरकार गठन भए पनि काम गर्न नसक्दा जनताको समर्थनको पारो क्रमशः घट्दै गएको छ ।

केपीओली नेतृत्वको वर्तमान सरकारका कुनै पनि मन्त्रीले जनपक्षीय काम गर्न सकेका छैनन् । उनीहरु दैनिक भेटघाटमा मात्रै रमाउने गरेका छन् । गृहमन्त्री रामबहादुर थापाले केही नयाँ गर्न खोजेको भनिए पनि उनी पनि आलोचनाबाट मुक्त छैनन् । यद्यपी सरकारको पाँचमहिने प्रशस्ती पुस्तिकामा भने उनले सम्हालेको मन्त्रालयको विवरण बढीमात्रामा समेटिएको छ । गृहमन्त्रीलाई असफल पार्ने नियतका साथ सरकारकै अरु मन्त्रीहरु समेत परिचालित भएको समेत बताइन्छ । यस्तै ऊर्जा मन्त्री बर्षमान पुनको नाम कहिकतै पनि सुनिदैन । उनी के काम गरेर बसेका छन् केही थाहा पत्ता लाग्न सकेको छैन । रक्षामन्त्री ईश्वर पोखरेलको पनि कुनै प्रभावकारी काम गर्न सकेका छैनन् । आशा गरिएका भनिएका श्रम मन्त्री गोकर्ण विष्ट पनि कुहिराको कागजस्ता भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मनत्री मातृका यादव पनि चुपचाप छन् । कुनै पनि नयाँ काम हुन सकेको छैन ।

यस्तै अर्थमन्त्री डा युवारज खतिवडा नै वर्तमान सरकारको सेखी झार्ने मन्त्रीका रुपमा परिचित छन् । जुनसुकै वस्तुमा पनि कर थोपरेर उनले नागरिकमाथि ज्यादती थोपरेका छन् । सत्तारुढ नेकपाका सांसदले नै उनको राजीनामा मागेका छन् । सरकारले किन काम गर्न सकेन भन्ने बारेमा पार्टी भित्र कुनै छलफल नै भएको छैन । एकता प्रक्रियाले समेत गतिलिन सकेको छैन । एकता प्रक्रिया पनि काम भन्दा बढी हल्ला मात्रै भएको छ । सरकारको काम कारवाहीका कुनै पनि जनता खुसी नहुँदा नेकपाको सरकारको ग्राफह्वात्तै तलझरेको छ । किन जनताको पक्षमा सरकारले काम गर्न सकेको छैन भन्ने प्रश्नको उत्तर अब कसले दिने होला भन्ने चिन्ता सर्वत्र छाएको छ ।

करै करको मारका कारण संघीय प्रणाली असफल बनाउने खोज्ने प्रवृत्तिलाई सरकारले मलजल गरिरहेको छ । तर सरकारको तर्फबाट कुनै आधिकारिक धारणा अहिलेसम्म सार्वजनिक भएको छैन । सरकारको काम गर्ने शैलीका कारण जनता दिनप्रतिदित निराश हुँदै जाँदा ठूलो गाह्रो पर्ने पनि हुन सक्छ । तर सिंहदरबारमा रहेको कोही कसैले पनि सो बारेमा चिन्ता गरेको पाइएको छैन ।

 

प्रतिक्रिया दिनुहोस