आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले बनायो समिति

सफल खबर संवाददाता

आइतबार, ३१ भदौ २०८०, ११ : ३७
आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले बनायो समिति

काठमाडौं। चिकित्सक कुटिएको विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले वार्ता समिति गठन गरेको छ। सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। वार्ता टोलीको सदस्यहरुम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, कानून र स्वास्थ्य मन्त्रालयका सहसचिवहरु सदस्य रहेका मन्त्रालयले जनाएको छ । आन्दोलनरत पक्ष र सरकारी टोलीबीच आजैदेखि वार्ता थालिने मन्त्रालयले जनाएको छ ।

डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन्।चिकित्सकहरूले सुरक्षाको माग गर्दै आइतबार अस्पताल र स्वास्थ्य संस्थाहरू ठप्प पारेका हुन्।

अस्पतालहरूमा ‘ओपिडी सेवा बन्द, असुविधाका लागि क्षमा प्रार्थी छौं’ लेखेर टाँसिएको छ। चिकित्सकहरू हातमा कालोपट्टी बाँधेर अस्पताल पुगेका थिए। भदौ २७ गते हेटौंडास्थित सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको थियो।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट भएको हो। कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई गत बिहीबार पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस