विकास र समृद्धि सहकार्यबाट मात्रै सम्भव : रेनु दाहाल

सफल खबर संवाददाता

शनिबार, ०२ भदौ २०७५, १६ : ५३
विकास र समृद्धि सहकार्यबाट मात्रै सम्भव : रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास र समृद्धि सहकार्यबाट मात्र सम्भव हुने कुरा पुनः दोहोर्‍याउनुभएको छ ।
मेयर दाहालले पछिल्लो समय उपमेयरलगायत कांग्रेसका वडाध्यक्षहरुले समीक्षा बैठक बहिष्कार गरेको दुई दिनपछि शनिबार प्रमुख रेनु दाहालले महानगरको विकास र समृद्धि सहकार्यबाट मात्र सम्भव भएको बताउनुभयो ।
‘हामी हिजोका दिनमा पनि मिलेर अघि बढेका थियौँ, आज र भोलि पनि मिलेर अघि बढनुपर्छ, सहकार्यको विकल्प छैन’ प्रमुख रेनु दाहालले भन्नुभयो,  ‘समीक्षा बैठकजस्ता कार्यक्रम बहिष्कार गर्नु हुन्थेन, उहाँहरुले किन गर्नुभयो थाहा भएन । हामी त अझै सहकार्य गरेर अघि बढ्नुपर्छ भनिरहेका छौँ । कसैलाई पेल्ने र मिच्ने काम महानगरबाट भएकै छैन ।’
भरतपुर महानगरको विकास र समृद्धिमा काम भइरहेको उहाँले बताउनुभयो । सहमति र सहकार्य गरेर नै अघि बढिरहेको उहाँको भनाइ थियो । उहाँले हामी पहिले पनि सहमतिमा विकास निर्माणका काम गरिरहेका छौँ, अब पनि सहमतिमा काम गर्ने बताउनुभयो । ‘विभिन्न सञ्चारमाध्यममा ममाथि दम्भ बढाइएको आरोप लगाइएको छ, यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ उहाँले भन्नुभयो, ‘काम गर्दा ससाना त्रुटि हुन सक्छ, त्यसलाई सच्याएर सुधारेर अघि बढ्नुपर्छ, हामी त्यो गर्न तयार छौँ ।’

‘विकास निर्माणमा अवरोध पुर्‍याउँदैनौँ : वडाध्यक्ष
भरतपुर महानगरपालिकाका कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्षहरुले महानगरसँग कुनै तिक्तता नभएको र विकासमा निर्माणमा आफ्नो कुनै अवरोध नहुने बताएका छन् ।

भरतपुर महानगरपालिका वडा नं १ का वडाध्यक्ष जयराम श्रेष्ठले प्रमुख र उपप्रमुखबीच केही असमझदारी भएको हुनसक्छ, यसलाई सल्टाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सधैँ विवाद गरेर बस्ने कुरा त हुँदैन, समझदारी गरेर अघि बढ्नुपर्छ । जनताको काम गर्न सकिएन भने हामी सबै खाडलमा पर्छौँ, त्यसैले कुन ठाउँमा असमझदारी भएको हो, सुझाएर अघि बढ्नुपर्छ ।’ विकास निर्माणमा आफ्नो तर्फबाट अवरोध होइन, सहयोग पुर्‍याउने उहाँले बताउनुभयो ।

भरतपुर ३ का वडाध्यक्ष चन्द्रमित्र पंण्डितले विवाद गरेर समस्या समाधान हुँदैन, सहमति गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले समीक्षा बैठक बहिष्कार नगरौँ भनेको हो, धेरै साथीहरुले धेरै कुरा गर्दा कांग्रेस पार्टी कार्यालय बैठक लम्बियो, समीक्षा बैठकमा जान भ्याइएन ।’ विकास निर्माणमा कुनै अवरोध पु¥याइकन सहमति गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

भरतपुर वडा नं ८ का वडाध्यक्ष दामोदार न्यौपानेले वडाध्यक्षको महानगरसँग कुनै मनमुटाव नभएको बताउनुभयो । पार्टी कार्यालयमा भएको छलफल लम्बिदा समीक्षा बैठकमा जान नपाएको उहाँको भनाइ थियो । ‘समीक्षा बैठक बहिष्कार गरेको होइन, जान नभ्याइको हो, कुनै तिक्तता छैन । अरु कुनै कारण छैन । महानगरको अन्य कार्यक्रमहरुमा सहभागी भइन्छ ।’

भरतपुर महानगरपालिका वडा नं २१ का वडाध्यक्ष चित्रसेन अधिकारीले समीक्षा बैठक बहिष्कार गरेको होइन, समय अभावले जान नभ्याइएकोे बताउनुभयो । उहाँले भन्नुभयो, ‘ससाना विषयलाई ठूलो बनाउनुहुँदैन, कहाँनेर समस्या भएको त्यसको जरो पत्ता लगाएर खोजेर अघि बढ्नुपर्छ ।’ अबका कार्यक्रमहरुमा हाम्रो सहभागी हुन्छ, ७ गते नियमित बैठक हुन्छ त्यसमा हामी सहभागी हुन्छौँ ।’

‘सहकार्यले मात्र समृद्धि हासिल’
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य उमेश श्रेष्ठले विकासको काममा अवरोध गर्न नहुने र सहकार्यले मात्र समृद्धि हासिल हुने बताउनुभएको छ । उहाँले महानगरपालिकाको समीक्षामा सहभागी नहुनु दुखद रहेको बताउनुभयो । विभाजित मानसिकताले समग्र विकास निर्माणलाई नकारात्मक असर पार्ने भन्दै त्यसो नगर्न उहाँले नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको थियो । विकासको आधार ठूला पूर्वाधार रहेको धारणा राख्दै समस्याहरु एकआपसमा समझदारी कायम गरेर अगाडि बढ्ने बताउनुभयो ।  

कांग्रेस कार्यकर्ताहरुको असन्तुष्टि
समीक्षा बैठक बहिष्कारप्रति कांग्रेस कार्यकर्ताहरु असन्तुष्टि देखिएका छन् । ‘समीक्षा बैठक बहिष्कार गर्नुहुन्थेन, यो गलत भयो । मिलेर अघि बढ्नुपर्ने र विकास निर्माणलाई झन् अघि बढ्नुपर्ने हो’ एक कांग्रेस कार्यकर्ताले भने, ‘यो गलत भयो, यसबाट कांग्रेस कार्यकर्ताहरु असन्तुष्टि भएका छन् ।’ मिलेर अघि बढ्नलाई उनले सुझाव दिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस