चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् ।
उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुग्नुभएका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् ।
मोरङबाट उपचारका लागि यहाँ आएकी दिव्या तिमिल्सिनाले अस्पतालमा पर्याप्त उपकरण नहुँदा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेको गुनासो गरिन् । उनले भनिन्, “सरकारी अस्पताल भनेर आउने तर उपचारका लागि बाहिर जानुपर्ने हो ।”
यस्तै पर्वतबाट श्रीमतीको उपचारका लागि आएका बलराम सुवेदीले अस्पतालका चिकित्सकले बिरामीलाई उपचारका लागि बाहिर पठाउने गरेको गुनासो गरे । उनले भने, “अस्पतालमा शय्या खाली हुँदा पनि पालोमा राखिने गरेको छ । त्यससँगै समयमा उपचारका लागि निजी अस्पताल पठाउने गरिएको छ ।” स्वास्थ्य बिमाबाट पाउने गरेको सेवा–सुविधासमेत अस्पतालबाट नपाएको उनले गुनासो गरे।
मन्त्री बस्नेत आएको जानकारी पाएर अस्पतालको प्रशासन भवन अगाडि जम्मा भएका बिरामीका आफन्तले बिमाबाट अस्पतालको फार्मेसीमा पाउनुपर्ने औषधिसमेत नपाएको गुनासो गरेका थिए । सुवेदीले थपे, “बिमाबाट सिटामोलसमेत पाउन सकिएन मन्त्रीज्यू”, बाहिरी जिल्लामा बिमाबाट भएको उपचार र पाएको औषधि यहाँ बाहिर किन्नुपरेको उनको गुनासो थियो ।
गुल्मीबाट बिरामी लिएर आएका कृष्णप्रसाद न्यौपानेको पनि गुनासो उस्तै थियो । सरकारले दिएको सेवा–सुविधासमेत अस्पतालबाट पाउन नसकेको भन्दै उनले मन्त्रीका सामु आक्रोश पोखे। बिरामी र बिरामीका आफन्तलाई अस्पतालका कर्मचारीले हेयका दृष्टिले हेर्ने गरेको गुनासो राख्दै उनले भने, “कर्मचारीले बिरामीका आफन्तलाई बुझ्ने भाषामा बुझाउने हो कि झर्कनेफर्कने हो ।”
सर्लाहीबाट उपचारका लागि आएकी एक महिलाले पैसाको अभावमा उपचार गर्न नसक्ने अवस्था आएको पीडा सुनाइन् । अस्पतालमा बिजुलीदेखि खानेपानी, शौचालयसम्म र चमेना गृहसम्मको गुनासो मन्त्री बस्नेतलाई बिरामीका आफन्तले राखेका थिए ।
बिरामी र बिरामीका आफन्तको गुनासो सुनिसकेपछि मन्त्री बस्नेतले अस्पतालमा आएका बिरामी बाहिर पठाउन नपाउने तथा त्यस्तो गरेमा अस्पताल प्रशासन र चिकित्सकलाई कारबाही गरिने बताए । मन्त्री बस्नेतले भने, “योभन्दा सेवा–सुविधा भएको अस्पताल कुन हुनसक्छ । यहाँबाट बिरामी बाहिर पठाउने काम बन्द हुनुपर्छ । बिरामी बाहिर पठाए कारबाहीको भागिदार बन्नुपर्ने छ ।”
अस्पताल प्रशासनलाई निर्देशन दिँदै उनले थपे, “अस्पताल आएका बिरामी को कहाँ कति सिफारिस भए, के कारणले भए मलाई मासिक विवरण पठाउनुहोला ।” सरकारी अस्पतालमा आएका बिरामीलाई उपचारका लागि निजीमा पठाउने छुट कसैलाई नभएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन स्वास्थ्य मन्त्रीलाई कार्यदलको सुझाव
विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो : स्वास्थ्यमन्त्री पौडेल
नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु पर्छ: मन्त्री थापा
स्वास्थ्य मन्त्री यादव जेनेभा जाँदै
सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
मेडिकल शिक्षा दिने तयारी गर्न टेकु अस्पताललाई स्वास्थ्य मन्त्रीको निर्देशन