जग्गा बाँझो राख्नेलाई धमाधम कारबाही, १ लाख ३६ हजार राजश्व संकलन

सफल खबर संवाददाता

शनिबार, ०२ भदौ २०७५, १३ : २६
जग्गा बाँझो राख्नेलाई धमाधम कारबाही,
१ लाख ३६ हजार राजश्व संकलन

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले जग्गा बाँझो राख्नेलाई धमाधम कारबाही चलाएको छ । उत्पादनमूलक जग्गालाई बाँझो राख्दा देशलाई नै घाटा हुने हुँदा जरिबाना कारबाही चलाइएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए । 
जग्गा बाँझो राख्नेलाई जरिबाना कारबाही चलाएपछि केहीले मास, तीललगायतका कोशेबाली लगाउन थालेका मेयर वनले जानकारी दिए । 
‘जग्गा बाँझो राख्नेबाट हामीले अहिलेसम्म १ लाख ३६ हजार राजश्व संकलन गरेका छौँ’ मेयर वनले भने । जग्गा बाँझो राख्नेबाट नगरपालिकाले प्रतिकठ्ठा ५०० रुपैयाँ जरिबाना लगाउँदै आएको छ । जग्गा प्लटिङ भएका जमिन बढी बाँझो रहेको र पछिल्लो समय जग्गा प्लटिङ गर्न पनि रोक लगाइएको नगरपालिकाले जनाएको छ । रत्ननगर नगरपालिकाले ३० बिघा सार्वजनिक जग्गा पनि खोजी गरी संरक्षण गरेको छ ।  
 

बाँझो जग्गाको पत्तो छैन 
चितवनमा कति जग्गा बाँझो छ, भन्ने विषयमा सम्बन्धित निकायसँग कुनै पनि तथ्यांक छैन । 
सरकारले जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने भने पनि कार्यान्वयनको चरणमा आएको छैन । 
साविक जिल्ला कृषि विकास कार्यालयले चितवनमा जग्गा बाँझो राख्ने प्रचलन व्यापक रुपमा भइरहेको जनाएको छ । प्लटिङका घडेरीहरु किन्नेहरुले जग्गा बाँझो राखेका बढी पाइएको कृषि विकास कार्यालयले जनाएको छ ।
‘जमिन बाँझो राख्ने प्रवृत्ति बढिरहेको छ, बसेनि खेती गर्ने जमिन घटिरहेको छ’ साविक जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधीर श्रेष्ठले भने, ‘तर, यति नै जग्गा बाँझो छ भनेर भन्न सकिने अवस्था छैन । उनका अनुसार चितवन जिल्लामा बाँझो जग्गाको कुनै लेखाजोखा हालसम्म हुन सकेको छैन । 
चितवन जिल्लामा ५०० हेक्टरको हाराहारीमा जग्गा बाँझो रहेको अनुमान साविक जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस