काठमाडौं । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालत बाहिरबाट पक्राउ परेका छन् ।
शुक्रवार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै उनी पुनः पक्राउ परेका हुन् । ‘केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनामा उहाँलाई फेरि पक्राउ गरिएको हो’, परिसरका डिएसपी मोहन थापाले जानकारी दिए ।
यसअघि प्रकाण्डका छोरा नरेन्द्रबहादुरले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जसको सुनुवार्इ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो । चन्दा असुली गरेको आरोपमा प्रकाण्डलार्इ नेपाल प्रहरीको बिशेष ब्यूरोले २२ साउनमा पक्राउ गरेको थियो ।
काभ्रेमा प्रकाण्डको विरुद्ध मुद्दा दर्ता भएको र सोही मुद्दा अनुसन्धानका लागि उनलाई काभ्रे पठाउन लागिएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस