गत आर्थिक वर्षको समीक्षा ग¥यो भरतपुर महानगरले

विकास र समृद्धि सहकार्यबाट मात्रै सम्भव छ : रेनु दाहाल

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०७५, १९ : ३३
विकास र समृद्धि सहकार्यबाट मात्रै सम्भव छ : रेनु दाहाल

                                     गत आर्थिक वर्षको समीक्षा ग¥यो भरतपुर महानगरले

चितवन । भरतपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०७४/७५ को वार्षिक समीक्षा गोष्ठी बिहीबार भरतपुरमा सम्पन्न गरेको छ । गोष्ठीमा ११ वटा विषयगत कार्यालयले गत आर्थिक वर्षको समीक्षा प्रस्तुत गरेका थिए ।
गोष्ठीमा पहिलो प्रस्तुति भरतपुर महानगरपालिकाको शहरी पूर्वाधार विकास महाशाखाका सिनियर डिभिजनल इञ्जीनीयर सहदेव बहादुर भण्डारीले दिनु भयो । उहाँले पूर्वाधार विकासतर्फ नगरस्तरीय योजनामा छुट्याइएको कूल ५७ करोड रुपैयाँमध्ये ६१ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । वडास्तरीय योजनातर्फ कूल ३१ करोड रुपैयाँमध्ये ९५ प्रतिशत खर्च भएको उहाँको भनाइ थियो ।
आर्थिक प्रशासन महाशाखाका उपसचिव खडानन्द अधिकारीले महानगरमा बेरुजुको समस्या पाइएको बताउनु भयो । उहाँका अनुसार कार्यालयमा २०३५ सालदेखिको बेरुजु छ । हाल पेश्की बेरुजुमात्रै २२ करोड ५५ लाख रुपैयाँ रहेको अधिकारीले जानकारी दिनुभयो । गोष्ठीमा वातावरण महाशाखाकी सुशिला रेग्मी र सामाजिक विकास महाशाखाकी सिर्जना थपलियाले आआफ्नो महाशाखाको प्रस्तुति दिनु भएको थियो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न गोष्ठीमा प्रदेश सभा सदस्य घनश्याम दाहाल प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि दाहालले महानगरको एक वर्षको प्रशंसा गर्दै विकास र निर्माणको काममा कसैले अवरोध गर्न नहुने बताउनु भयो । समृद्धि हासिल गर्न सबैको सामूहिक सहयोग, चिन्ता र चासो आवश्यक पर्ने बताउनु भयो ।

महानगर प्रमुख रेनु दाहालले एक वर्षको समीक्षा अत्यन्तै सहज र उपलब्धिमूलक रहेको बताउनु भयो । बितेको एक वर्ष महानगरवासीको भवना, इच्छा र चाहना अनुसार नै काम गरिएको उहाँको भनाइ थियो । समीक्षा गोष्ठीमा नेपाली काँग्रेसबाट विजयी उपप्रमुख र वडाध्यक्षहरुको अनुपस्थिति हुँदा आफू आश्चर्यमा परेको बताउँदै दाहालले भन्नुभयो, ‘बितेको एक वर्ष हामी सबै जनप्रतिनिधिहरुले एकै परिवारजस्तो भएर काम ग¥यौँ । सबै काम सामूहिक छलफलबाट निष्कर्ष निकालेरै गरेका हौँ । विकास र समृद्धि सहकार्यबाट मात्रै सम्भव छ ।’
गोष्ठीमा प्रदेश सभा सदस्यद्वय कृष्ण भूर्तेल र मिलनबाबु श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका तेजेन्द्रबहादुर खड्का र बद्री तिमिल्सिना, महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाली काँग्रेसले समीक्षा गोष्ठी बहिष्कार गरेको भनी हल्ला गरिएपनि गोष्ठीमा नेपाली काँग्रेसका मिलनबाबु श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभयो ।
गोष्ठीमा नेपाली काँग्रेसबाट विजयी उपप्रमुख र वडाध्यक्ष भने उपस्थित थिएनन् । बुधबार साँझसम्म नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र जिल्ला नेतृत्वले कार्यक्रममा सहभागी नहुने नभनेको कारण महानगरले गोष्ठीको पूर्वनिर्धारित मिति र समय परिवर्तन गरेन । बिहीबार बिहान दस बजेतिर आफूहरु समीक्षा गोष्ठीमा सहभागी नहुने जानकारी गराएपछि पूर्वनिर्धारित कार्यक्रम सार्न नसकिएको महानगरको भनाइ छ ।
गोष्ठीमा पशु सेवा शाखाका डा. विकास श्रेष्ठ, शैक्षिक प्रशासन महाशाखाका कृष्णप्रसाद पौडेल, डिभिजन सडक कार्यालयका सिनियर डिभिजनल इञ्जीनीयर धर्मेन्द्र झा, भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल, कानूनी मामिला शाखाका कानून अधिकृत खगेश्वर अधिकारी, खानेपानी तथा सरसफाई डिभिजनल कार्यालय चितवनका प्रमुख इञ्जीनीयर शालिकराम पौडेल र सामान्य प्रशासन, योजना, अनुगमन तथा आईटी डिभिजनका प्रमुख कूलबहादुर जीसीले पनि विषयगत प्रस्तुति दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस