‘संघीयताको सफल कार्यान्वयनले लोकतन्त्र संस्थागत हुन्छ’

मंगलबार, २९ साउन २०७५, २० : ५९
‘संघीयताको सफल कार्यान्वयनले लोकतन्त्र संस्थागत हुन्छ’

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीयताको सफल कार्यान्वयन भएपछि मात्र लोकतन्त्र संस्थागत हुने बताउनुभएको छ । 

नेपाल बौद्धिक पेशाकर्मी महासङ्घले आज यहाँ आयोजना गरेको ‘नेपालमा सङ्घीयता कार्यान्वयन’ विषयक विचार गोष्ठीमा उहाँले सङ्घीयतालाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभएको हो । “सङ्घीयतालाई समाप्त पार्ने विभिन्न खेलहरु भइरहेको छ, सङ्घीयतालाई समाप्त पारे मुलुक ठूलो दुर्घटनामा जान सक्छ,” उहाँले भन्नुभयो । नेपालको विकासका लागि पनि सङ्घीयता आवश्यक रहेको उहाँको भनाइ थियो । 

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहनुभएका यादवले स्थानीय तहदेखि केन्द्रसम्म विभिन्न समस्या देखिएको भन्दै समस्याको समाधानका लागि सम्बन्धित तहनै लाग्नुपर्ने बताउनुभयो । सबैलाई समेट्न र सबै जातिको पहिचानलाई जोगाई भाषा, धर्मको सम्मान गर्न सङ्घीय प्रणाली निर्माण भएको उहाँको भनाइ थियो । 

फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले संविधानले सबै जनताको हकअधिकारलाई समेट्न नसकेको भन्दै यसको संशोधनका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । “मधेश र जनजाति आन्दोलनका कारण मुलुकमा सङ्घीयता आएकाले यसलाई जोगाउन सबै लाग्नुपर्छ,” उहाँले भन्नुभयो । 

फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीयतालाई बलियो बनाए मात्र मुलुकको विकास हुने बताउनुभयो । “सङ्घीयता खारेज गर्नतर्फ सरकार नै लागिपरेको छ,” उहाँले भन्नुभयो । उहाँले केन्द्रको मातहतमा प्रदेश र स्थानीय तहलाई राखे पनि प्रदेशको मातहतमा स्थानीय तहलाई नराख्दा दुविधा पैदा हुँदै गएको बताउनुभयो । 

कार्यक्रममा प्राडा महेन्द्र लावतीले नेपालको सङ्घीयता कार्यान्वयन ः सफलताको समीक्षा र भावी कार्यदिशाबारे प्रस्तुति राख्नुभएको थियो । पार्टी स्थापना भएदेखि नै स्थापना भएको नेपाल बौद्धिक पेशाकर्मी महासङ्घले राष्ट्रिय अन्तर्राष्ट्रिय गोष्ठी र प्रतिवेदन तथा घोषणापत्र निर्माण गर्दै आइरहेको महासङ्घका अध्यक्ष डा उमाप्रसाद शंकरले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस