काठमाडौँ । चार देश सम्मिलित टी-२० शृङ्खलामा नेपालले कुवेतलाई ३४ रनले हराएको छ । नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रनमात्रै बनाउन सक्यो । कुवेतका लागि जीफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालकी इन्दु बर्माले ३, खुशी डङ्गोलले २ तथा कविता कुँवर, सीता राना मगर र ईश्वरी विष्टले १र१ विकेट लिइन् ।
यसअघि मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । बलिङतर्फ कुवेतकी मारिमा हेडरले ४ विकेट लिइन् ।
शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ भदौ २०८०, १६ : २४
लेखकबाट थप