कम्युनिष्ट सरकारका कमाउनिष्ट मन्त्री रविन्द्र अधिकारीको अर्को चर्तिकला, फेक रेस्क्यु गराउने गिरोहमाथि सुरु भएन कारबाही प्रकृया

सफल खबर संवाददाता

सोमबार, २८ साउन २०७५, १० : ५२
कम्युनिष्ट सरकारका कमाउनिष्ट मन्त्री रविन्द्र अधिकारीको अर्को चर्तिकला,
फेक रेस्क्यु गराउने गिरोहमाथि सुरु भएन कारबाही प्रकृया

काठमाडौँ । नेपालको पर्यटकीय गतिविधिलाई नकारात्मक बनाई पैसा कमाउन पल्केका केही व्यवसायी, हेलिकोप्टर कम्पनी, अस्पताल र पर्यटन व्यवसायीलाई कारबाही गरिने बताएपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म कुनै प्रक्रिया सुरु गरेको छैन । पर्यटकलाई नक्कली बिरामी बनाएर फेक रेस्क्यू गराउने गिरोहलाई कारबाही गर्ने भन्दै सरकारले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको दुई साता बितेपनि कारबाहीको प्रक्रिया नै सुरु हुन सकेको छैन ।
रेस्क्युका नाममा ठगी धन्दा चलाउँदै आएका व्यवसायीमाथि सरकारले कारबाही सुरु भएको पर्यटन मन्त्रालयले दाबी गरेपनि सोही मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार मन्त्री अधिकारी र सचिव कृष्णप्रसाद देवकोटाले नै प्रतिवेदन राम्रोसँग अध्ययन गरेका छैनन् । मन्त्रालयकै मन्त्री र सचिवले प्रतिवेदन अध्ययन नगरेकै कारण कारबाहीको प्रक्रिया अगाडि बढ्न नसकेको स्रोतको भनाइ छ । 
नेपाल भ्रमणमा आएका पर्यटकलाई नक्कली बिरामी बनाउने, नक्कली बीमा गर्ने र उद्धारको नाममा कमाउ धन्दा चलाउने अस्पताल, हेलिकोप्टर कम्पनी, पर्यटन व्यवसायी गरी करिब सयभन्दा बढीलाई कारबाही गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ । केही विषयमा गृह मन्त्रालयलाई जानकारी गराउने र कारबाहीको प्रक्रिया सुरु गर्न प्रतिवेदनले आग्रह गरेपनि हालसम्म प्रतिवेदन गृह मन्त्रालयमा नै  पुग्न सकेको छैन ।

नेपाल आएर पदयात्राको क्रममा विभिन्न भागमा पुग्ने पर्यटकलाई नक्कली बिरामी बनाउने, नक्कली उद्धार गरी बिमा रकम असुल्ने र उद्धारको चर्काे भाडा लिई ठगी गरेको चर्को गुनासो पछि मन्त्रालयले छानबिन समिति बनायो । सो समिति गत जेठ २१ गते गठन भएको थियो । समितिले यही साउन १४ गते प्रतिवेदन बुझाएको हो ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीले छानबिन कार्यदलले बुझाएको प्रतिवेदन अनुसार विदेशी मुद्रा कारोबार गर्ने अनुमति नलिएको तर पर्यटकवापत विदेशी मुद्रामा उद्धार भाडा वापत भुक्तानी दाबी गरेको विवरण पेश गर्ने ५ वटा कम्पनीलाई राष्ट्र बैंकबाट विदेशी विनिमय ऐनअनुसार छानबिन गर्न परिपत्र गरिएको बताएका छन् । उनले उद्धारको क्रममा महँगो शुल्क लिने ६ अस्पताललाई स्वास्थ्य मन्त्रालयबाट छानबिन गरी कारबाही गरिने बताए । तर स्वास्थ्य मन्त्रालयमा समेत हालसम्म उक्त प्रतिवेदन नै पठाइएको छैन ।
महँगोमा उद्धार गर्ने ८ ट्राभल, ४ अस्पताल, ३ हेलिकप्टरको राजस्व चुहावटअनुसार छानबिन गरी कारबाही गर्न राजस्व अनुसन्धान विभागलाई अनुरोध गरिएको मन्त्री अधिकारीको भनाइ छ । उनले ती निकायलाई समेत पत्राचार भइसकेको बताएका छन्, तर ती निकायमा समेत पत्र आएको नआएको कसैलाई थाहा छैन । 
छानबनि समितिले गृह मन्त्रालयको सहयोगमा दोषीमाथि कारबाही गर्न सुझाव दिएको छ । तर गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाले हालसम्म फेक रेस्क्युबारेको प्रतिवेदन प्राप्त नभएको जनाएको छ । ‘प्रतिवेदन पठाइएको बारेमा त हामीले सञ्चार माध्यमबाट थाहा पाएका हौँ, तर प्रतिवेदन हालसम्म कस्तो बनेको छ, कस्ता विषय समावेश गरिएको छ भन्ने बारेमा जानकारी पाएका छैनौँ’ महाशाखाका एक अधिकारीले भने, ‘प्रतिवेदन पाएपछि के गर्ने भन्ने बारेमा आवश्यक निर्णय होला, प्रतिवेदन नै अध्ययन नगरी, प्रतिवेदन नै नपाई कसरी यस्तो हुन्छ भन्ने ?’
पर्यटकलाई नियोजित रुपमा बिरामी गराउन खानेकुरामा मिसावट गरी संगठित तवरले बिमा रकम दाबी गर्ने कार्य गरेको, एउटै उडानमा धेरै पर्यटक ल्याई प्रत्येक पर्यटकका आधारमा अलग अलग बिल जारी गर्ने गरेको प्रतिवेदनले औँल्याएको छ । प्रतिवेदनमा उद्धार उडान तथा उपचार समेत नगराई कागजातहरु तयार पारी बिमा रकम दाबी गर्ने विवरण प्राप्त भएमा गृह मन्त्रालय तथा यस अन्तर्गतको नेपाल प्रहरीबाट अनुसन्धान गराउने उल्लेख छ । त्यस्ता विषयमा संगठित अपराध तथा ठगीको कसुरमा अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउन गृह मन्त्रालयलाई आग्रह गर्ने प्रतिवेदनमा उल्लेख छ ।
मन्त्री अधिकारीले दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने बताएपनि पूर्वएमालेनिकट व्यवसायी नै यो प्रकरणमा लागेको खुलेपछि मन्त्री अधिकारीले पैसाको कुटिरो उछिट्याउँदै उनीहरुलाई जोगाउन लागेको स्रोतको दाबी छ । यसकै लागि उनले कारबाही प्रकृयालाई प्रभावित बनाउने काम गरेको स्रोतले बतायो ।
 

प्रतिक्रिया दिनुहोस