डा केसीसँगको भेटमा प्रधानमन्त्री ओलीले भने– अब हामी मिलेरै स्वास्थ्य शिक्षाको सुधारमा लागौँ

सफल खबर संवाददाता

शनिबार, २६ साउन २०७५, १५ : ५२
डा केसीसँगको भेटमा प्रधानमन्त्री ओलीले भने– अब हामी मिलेरै स्वास्थ्य शिक्षाको सुधारमा लागौँ

काठमाडौँ । डा. गोविन्द केसीलाई बालुवाटारस्थित निवासमा भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो र केसीको अभियान एउटै रहेको तर त्यो बुझ्न आफूलाई समय लागेको बताएका छन् ।
डा. केसीले शनिबार दिउँसो भेटेपछि सुरुमै प्रधानमन्त्रीले भने, ‘मेरो बुझाइ र तपाईको बुझाई एउटै रहेछ। अब हामी मिलेरै स्वास्थ्य शिक्षाको सुधारका लागि अभियान चालौं ।’ भेटघाट सकिएपछि अन्तिममा पनि प्रधानमन्त्री ओलीले त्यही वाक्य दोहोराए ।

डा. केसीले चिकित्सा शिक्षा विधेयक बाहेकका सबै माग पूरा गर्नलाई १५ दिनभित्र कार्यदल गठन लगायत प्रक्रिया सुरु गर्ने आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग माग गरे । केसीले भने, ‘माग पूरा नगरे फेरि पनि म अनशन बस्छु ।’

केसीको चेतावनीपछि प्रधानमन्त्रीले सम्झौता संवेदनशील भएको र ती पूरा गर्न समयसीमा बाँधेर गर्न नसकिने बताए । ‘त्यसैले समयसीमाभन्दा पनि सम्झौता कार्यान्वयन गर्नु कुरा ठूलो हो । हामी त्यसमा गम्भीर छौं । तपाइले अनशन बस्ने दिन नआओस् भन्ने हाम्रो चाहना छ,’ उनले भने ।

केसीले भने, ‘मसँग गरेको प्रतिवद्धता पूरा गर्नु आम जनताले गुणस्तरीय र सर्भसुलभ शिक्षा पाउनु हो । त्यसैले सबै गम्भीर हुनु पर्छ ।’

प्रधानमन्त्रीले पनि आफू त्यही अभियानमा रहेको दोहोर्‍याए । उनले भने,  ‘हामी पनि त्यही अभियानमा थियौं र छौं । खालि तपाईँ र मेरो बुझाइ एउटै रहेछ भन्ने ठम्याउन समय लाग्यो । अब चिन्ता गर्न पर्दैन ।’

डा. केसीका समर्थक एवं वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानमन्त्री र डा. केसीबीच दुई घण्टा गहन छलफल भएको जानकारी दिए ।

उनले डा. केसीसँग भएका हरेक सम्झौता कार्यान्वय कसरी गर्ने भन्नेमा गहन छलफल भएको र त्यसका लागि छिट्टै एउटा कार्यदल पनि गठन गर्ने औपचारिक सहमति दुवै पक्षबीच भएको जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस