सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुको पनि छानबिन गर्छ : मन्त्री मोदी

सफल खबर संवाददाता

शुक्रबार, १९ साउन २०८०, १५ : ५२
सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुको पनि छानबिन गर्छ : मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुमा पनि छानबिन गर्ने बताएका छन ।शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री मोदीले सरकारले भ्रष्टाचारका अन्य प्रकरणहरुमा पनि छानबिन गर्ने बताए ।

उनले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताए । मन्त्री मोदीले नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणको निष्पक्ष तरिकाले छानबिन गरिरहेको बताए । उनले सरकारले आफ्ना नजिककालाई बचाउने र अर्काका मान्छेलाई कारबाही गर्ने नीति नलिएको स्पष्ट पारे । सरकारले निर्दोष नपर्ने र दोषि नउम्किने गरी काम गरिरहेको स्पष्ट पारे।

मन्त्री मोदीले स्थानीय तहहरु निमित्तको भरमा चलाउने कुराको अन्त्य गर्न लागेको बताए । उनले मधेस प्रदेशमा अब कतैपनि निमित्तको भरमा स्थानीय तह नचलेको बताए । हाल देशभरमा करिब ९० स्थानमा निमित्तको भरमा चलिरहेको भन्दै त्यसको पनि क्रमशः अन्त्य गर्दै जाने बताए । उनले कर्मचारीहरुको सरुवा मेरिटको आधारमा गर्ने पनि बताए।

मन्त्री मोदीले आफू अनुकुलका कर्मचारीहरुलाई सरुवा गर्नका लागि राजनीतिक तहबाट र स्थानीय जनप्रतिनिधिहरुबाट पनि दबाब आउने गरेको भन्दै त्यसो नगर्न आग्रह गरे । आफू अनुकुलका कर्मचारीलाई सरुवा गर्दा देशमा सुशासन कायम हुन नसक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस