मकवानपुरको बकैयामा बस दुर्घटना, ३१ जना घाइते

सफल खबर संवाददाता

विहीबार, २८ चैत्र २०८१, ०८ : १५
मकवानपुरको बकैयामा बस दुर्घटना, ३१ जना घाइते

मकवानपुर । मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर –३ चिसापानी बजार स्थित धरान चतरा सडक खण्डमा बस अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सिन्धुलीबाट हेटौँडा तर्फ आउँदै गरेको बा.प्र.०६-००१ ख ०२७० नम्बरको बसमा भिमफेदी गाउँपालिका कृषि तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।  

भ्रमण सकेर फर्किँदै गरेको अवस्थामा गएराति ९ः३० बजेको समयमा चिसापानीबजार स्थित धरान चतरा सडक खण्डमा सिन्धुलीबाट हेटौडा तर्फ आउँदै गरेको घुम्तीमा दुर्घटना भएको उनले बताए । उनका अनुसार दुर्घटनामा बसमा चालक सहित ३१ जना सवार रहेको यात्रु घाइते भएका छन् ।

दुर्घटनामा मकवानपुर भिमफेदी-३ बुल्मिङ बस्ने वर्ष ४६  को श्रीराम बज्यु, भिमफेदी-५ ज्यामिरे बस्ने वर्ष ५५ की  रिता कुमारी मगर, चितवन राप्ति २ गडौली बस्ने वर्ष २९ को पशुको डा सरोज ओझा, डा ओझाको श्रीमती वर्ष २७ की रेश्मा सुवेदी, भीमफेदी-६ टारगाँउ बस्ने भीमफेदी गाउँपालिकाककी कार्यपालिका सदस्य वर्ष ४५ की सुमित्रा लामा, सोही स्थान बस्ने वर्ष ५५ की श्री सानी आले, भीमफेदी-५ अकोटे बस्ने वर्ष २५ को अनिल स्याङबो घाइते भई उनीहरुलाई थप उपचारको लागि भरतपुर पठाइएको प्रवक्ता अर्यालले बताए । 

त्यस्तै दुर्घटना घाइते भएका मकवानपुर भिमफेदी-२ निगाले बस्ने वर्ष ४५ को दिलिप राज बुलन, भिमफेदी-५ सुपिङ बस्ने वर्ष ५१ को यदुनाथ पुडासैनी, मकवानपुरगढि-३ मक्रान्चुली बस्ने वर्ष ४२ को नारायण प्रसाद शर्मा, हेटौडा-११ थानाभर्याषङ बस्ने वर्ष २९ को उज्वल राना मगरको उपचार पश्चात् डिस्चार्ज गरिएको प्रवक्ता अर्यालले बताए ।

त्यसैगरी दुर्घटनामा भीमफेदी-६ भदौरे बस्ने वर्ष ३२ को सुदिप  पराजुली, भीमफ्फेदी-२ चौकीडाँडा बस्ने वर्ष २७ को सुयास पाख्रिन, भीमफेदी-९ झिरघारी बस्ने वर्ष २७ को शुभाष रुम्बा, सोही स्थान बस्ने वर्ष ५२ को हित चन्द्र मोत्तान, भीमफेदी-२ को वडा अध्यक्ष वर्ष ४९ को कासीराम बज्युको हेटौँडा स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रवक्ता अर्यालको भनाई छ ।