एकीकृत समाजवादीले संशोधन गर्‍यो आन्दोलनको कार्यतालिका (पत्रसहित)

सफल खबर संवाददाता

बुधबार, २७ चैत्र २०८१, १२ : ४५
एकीकृत समाजवादीले संशोधन गर्‍यो आन्दोलनको कार्यतालिका (पत्रसहित)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले यसअघि पहिलो चरणका लागि घोषणा गरेका आन्दोलनका केही कार्यक्रम र कार्यतालिका संशोधन गरेको छ । पार्टी महासचिव घनश्याम भुसालले बुधबार मातहतका पार्टी कमिटीलाई ‘जरुरी’ परिपत्र जारी गर्दै आन्दोलनका कार्यक्रम संशोधन गरिएको जनाएका हुन् ।

एकीकृत समाजवादीले ‘सुशासन र रोजगारी समाजवादीको तयारी’ भन्ने नाराका साथ पहिलो चरणको आन्दोलन चैत १ गतेबाट वैशाख २२ सम्मका कार्यक्रम सार्वजनिक गरेको थियो । त्यसअन्तर्गत कतिपय कार्यक्रम भैसकेका छन् । 

महासचिव भुसालका अनुसार संशोधित आन्दोलनका कार्यक्रम अनुसार वैशाख १० गते सङ्घीय सरकारलाई मागपत्र पेस गर्ने, वैशाख १४ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा प्रदेश र जिल्लाका मागपत्र बुझाउने र वैशाख २२ र २३ गते पालिका र वडा कार्यालयहरूमा मागपत्र बुझाउने रहेका छन् । 

यसअघि सो पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेस गर्ने रहेको थियो भने वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।