काठमाडौं । हिजोआज नेपालमा योगको चर्चा र योग कक्षाहरू धेरै सञ्चालनमा आएको पाइन्छ । यो सकारात्मक कदम हो । यस कार्यले के पुष्टि गराउँछ भने मानिसमा स्वास्थ्य सचेतना बढेको छ र योग अभ्यासप्रति सकारात्मक विश्वास बढेको छ । हुन त कतिपय मानिस योग कक्षामा जानुको उद्देश्य मानिससँग भेटघाट गर्न र आफू पनि योग गर्दैछु भन्ने सन्देश दिनलाई मात्र हो भन्ने पनि गएको पाइन्छ ।
यस्तो सोचाइले भने खासै स्वास्थ्यलाई फाइदा पुर्याउँदैन । योगको यथार्थता र महत्वलाई नबुझी नक्कल र देखावटी योग ध्यानले स्वास्थ्यलाई हानि पनि पुर्याउन सक्छ । योग गर्छु भन्दैमा पनि त्यसले फाईदा हुँदैन् । त्यसको लागि विभिन्न तरिकाहरु हुन्छन् । आज हामी तपाईलाई योग अभ्यास कसरी र कति गर्ने भन्ने बारेमा १५ उपाय बनाउँन गईरहेका छौंः
१. खाली पेटमा योग गर्नुहोस्ः
खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ । अन्य समयमा गर्नुपर्दा टन्न खाएको ४ घन्टापछि र हल्का खाएको दुई घन्टापछि गर्नुपर्छ ।
२. योग सकेको आधा घण्टापछि मात्रै खानेः
योग अभ्यास सकेको केही समयमै खाना खाने बानीले कुनै फाईदा गर्दैन् । त्यसैले योग अभ्यास सकेर आधा घन्टाजति कुरेर त्यसपछि मात्र खाना खानुपर्छ ।
३. हरेक दिन एउटै समयमा योग गर्नेः
कुनै दिन बिहानै उठेर यो गर्ने कुनै दिन दिउँसो गर्ने बानी छ भने तुरुन्तै हटाईहाल्नुस् । यसको लागि हरेक दिन एउटै समय बनाएर योग गर्नुपर्छ । हरेक दिन एउटै समय पारेर कम्तीमा २० मिनेट र बढीमा ९० मिनेटसम्म योग गर्न सकिन्छ।
४. खुकुलो लुगा लगाउनेः
यो अभ्यास गर्दा लुगा खुकुलो एवं सजिलो हुनुपर्छ, अझ सुतिको भए उत्तम हुन्छ ।
५. शान्त वातारणः
योग अभ्यास गर्दा शान्त, सफा, हावादार तथा न्यानो ठाउँ हुनुपर्छ ।
६. चस्मा र कन्ट्याक लेन्स छ भने अभ्यास गर्दा झिक्नुपर्छ ।
७. दिसा-पिसाब सकेर मात्र अभ्यास गर्नु बढी लाभदायक हुन्छ ।
८. महिलाले महिनावारी भएको बेला कडा अभ्यास गर्नुहुँदैन । यस्तो बेला कीर्तन, ध्यान, प्राणायाम मात्र गर्दा राम्रो। यसबेला तल्लो पेट चलाउनु हुन्न ।
९. प्रत्येक योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पुर्याउन सकिन्छ ।
१०. सामान्यतया अगाडि टाउको झुकाएर गर्ने अभ्यासले तनाव कम गर्नुका साथै मनोबल उच्च गराउँछ । तर मुटु, हर्निया तथा उच्च रक्तचाप भएकाले यो अभ्यास गर्नु हुँदैन ।
११. कुनै पनि आसन गर्दा शरीरलाई जबर्जस्ती जोड गर्नु हुँदैन ।
१२. दीर्घरोग भएकाले योग विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ ।
१३. योगबाट असर तथा फाइदा लिन कम्तीमा ३ देखि ६ महिना नियमित अभ्यास गर्नुपर्छ ।
१४. उच्च रक्तचाप, मुटुरोग, श्वासप्रश्वास, अनिद्रा तथा स्मरणशक्ति न्यून भएकाले प्राणायाम गर्दा श्वास रोक्न हुँदैन ।
१५. अपरेसन गरेका बिरामीले कम्तीमा २ वर्षपछि अथवा विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ साउन २०७५, १० : ३४
लेखकबाट थप