बुटवल । संघीय राज्य व्यवस्थाको आधा दशक पुगे पनि नेपालमा वित्तीय संघीयता कार्यान्वयन कमजोर देखिएको विश्व बैंकले जनाएको छ। नेपाल वित्तीय संघीयता अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले वित्तीय संघीयता सम्बन्धी संस्थाहरू सबल बन्दै गए पनि नीतिहरू पालनामा चुनौती देखिएको जनाएको छ।
विश्व बैंकले सन् २०१९ पछि वित्तीय संघीयता कार्यान्वयनको अवस्था विषयमा पहिलो पटक अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो। सोमबार लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा आयोजिक कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले प्रदेश तथा स्थानीय सरकारको सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी नीतिहरू पालनामा चुनौतीहरू रहेको जनाएको छ।
प्रतिवेदन सार्वजनिक गर्दै बैंकका अर्थशास्त्री नयन जोशीले प्राविधिक र जनशक्ति क्षमताको अभावमा चुनौती सिर्जना भएको बताए। ‘स्थानीय सरकारले लेखांकन गर्ने र वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने कार्यमा ज्यादै न्यून प्रगति हासिल गरेका छन, प्रतिवेदनमा भनिएको छ।
राजश्व विस्तारको तुलनामा खर्च उच्च रहेकाले २०२०/०२१ मा प्रदेश र स्थानीय सरकारहरूको सञ्चित वित्तीय बचत घटेको प्रतिवेदनमा उल्लेख छ। प्रदेश र स्थानीय सरकारको बजेट कार्यान्वयनमा सुधार भए पनि खर्च अत्यधिक कम हुने गरेको बैंकले जनाएको छ।
अर्थ विविध शीर्षकमा ठूलो रकम एकमुष्ठ विनियोजन गरिनु र वार्षिक बजेट, मध्यकालीन खर्च संरचना र आवधिक विकास योजनाबीच पर्याप्त तालमेल नहुँदा खर्च कम हुने गरेको बैंकले जनाएको छ।
बजेट कार्यसम्पादनको अनुगमन तथा निगरानीमा नागरिक सहभागिता हुने निश्चित गर्ने संयन्त्रको अभाव प्रदेश र स्थानीय सरकारमा देखिएको अर्थशास्त्री जोशीले बताए। विश्व बैंकले प्रदेशमा वित्तीय व्यवस्थापन इकाई निर्माण गर्न, खर्चको चौमासिक रूपमा लेखापरीक्षण गर्न र एकीकृत डाटावेश निर्माण गर्न सुझाव दिएको छ। प्रदेशलाई अर्थ विविध बजेट उपशीर्षक अन्तर्गत रहने रकमको सीमा तोकी विनियोजन ऐन ल्याउन सुझाव दिएको छ।
बैंकले ११५ वटा स्थानीय तह र सात प्रदेशलाई आधार लिएर अध्ययन प्रतिवेदन तयार गरेको हो। अध्ययनका क्रममा ४० प्रतिशत स्थानीय सरकारले बजेट वेबसाइटमा सार्वजनिक नगरेको र ८० प्रतिशतले विनियोजन विधेयक सार्वजनिक नगरेको भेटिएको प्रतिवेदनमा उल्लेख छ।
संघीय ऐन, प्रदेशमा नीति योजना तथा स्थानीय सरकारका वित्तीय संघीयता कार्यान्वयनका पक्षहरूमा भने सबल बन्दै गइरहेको प्रतिवेदनमा जनाइएको छ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले संघीयता आए पनि केन्द्रीकृत मानसिकता कायम रहेकाले पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताए। ‘ग्रामीण विकासका लागि प्रदेशको संरचना तयार भएको हो, तर हाम्रो राज्यशक्तिमा केन्द्रीकृत मानसिकता हटेन, उनले भने,‘यस्तो मानसिकता कायम रहेकाले विश्व बैंकले समेत लक्ष्य अनुरुपको उपलब्ध हासिल गर्न सकेको छैन।’
संविधान प्रदत्त अधिकारहरू प्रदेश र स्थानीय तहलाई प्राप्त हुनासाथ संघीयता पूर्ण रुपमा कार्यान्वयनमा रहने र जनताले सरकारको अनुभूति गर्न सक्ने उनले बताए।
त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिस्ट्रार डा. तिलकराम आचार्यले राजनीतिक संघीयताले मात्रै विकास र जनताका अपेक्षाहरू पूरा हुन नसक्ने उनले बताए।
उनले वित्तीय संघीयतालाई सबलीकरणका लागि तीन तहका सरकारबीच बजेट कार्यान्वयनका अन्योलता हटाउनुपर्ने बताए। राजश्व संकलनमा दोहोरोपन, प्राकृतिक स्रोत उपयोगका जटिलताहरूको समाधानले वित्तीय संघीयता कार्यान्वयनमा टेवा पुग्ने उनले बताए।
वर्ल्ड बैंक साझेदार संस्था जिआई जेडका लुम्बिनी प्रदेश प्रमुख निरन्जन जोशीले वित्तीय संघीयताको कार्यान्वयन निकै कमजोर रहेको औल्याए। संस्थाले स्थानीय तहमा कार्य गर्दा नागरिकलाई सरलतभन्दा जटितलतातर्फ लगिएको देखिएको उनले बताए। कर तिर्नका लागि पनि कष्ठ बेहोर्नु परेकाले यस्ता पक्षहरूमा सुधार हुन आवश्यक रहेको बताए।
रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरले जनतासँग प्रत्यक्ष जोडिने स्थानीय सरकारलाई स्रोत साधनमा बलियो बनाउनुपर्नेमा त्यसो हुन नसकेको बताए। संघले बजेट कटौती गर्ने, राजश्व संकलनका स्रोत नहुँदा स्थानीय सरकार वित्तीय रुपमा बलियो हुन नसकेको टिप्पणी गरे।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन उकेशराज भुजु, उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, सहकारी अभियान्ता ज्ञानु पौडेल, आर्थिक विश्लेषक मनिकर कार्की, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. सन्तोष ज्ञवालीले विश्व बैंकको प्रतिवेदन पनि टिप्पणी र सुझाव दिएका थिए। कार्यक्रमको सहजीकरण बौद्ध विश्वविद्यालयका उपप्राध्यापक दयानिधि गौतमले गरेका थिए।
विश्व बैंकले वित्तीय संघीयता कार्यान्वयन अवस्था विषयको अध्ययन प्रतिवेदन सातै प्रदेशमा सार्वजनिक गर्ने जनाएको छ। कार्यक्रममा प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र, शिक्षा क्षेत्र, व्यवसायीहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ साउन २०८०, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्व बैंकद्वारा नेपाललाई दिने साढे १३ अर्ब ऋण स्वीकृत
आयोजनाहरूको तयारी फास्ट ट्रयाकमा गरिने
नेपालको विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन डलर सहायता प्रदान गर्ने
उपप्रधानमन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता
विश्व बैंकको १५० मिलियन डलर ऋण लिन सरकारले वार्ता टोली गठन गर्ने
विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने