बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्छः सांसद केसी

सफल खबर संवाददाता

शुक्रबार, २६ जेठ २०८०, १४ : १५
बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्छः सांसद केसी

काठमाडौं । सांसद अर्जुनरसिंह केसीले बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्ने बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उहाँले बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्नेमा जोड दिए ।

उनले भने, “निरपेक्ष गरिबीको रेखामुनि बसेका सिमान्तकृत नेपालीको सामाजिक सुरक्षा, न्याय र आयलाई प्रत्याभूति गर्नेतर्फ केन्द्रित हुन सकेनौँ भने केही ठाउँको विकासले क्षणिक विकास होला तर राष्ट्रिय विकासको गति अगाडि बढ्न सक्दैन”, उनले भने ।

सांसद केसीले नीतिगत भ्रष्टाचारलाई नियन्त्रण गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले सदनमा सांसदहरुले भ्रष्टाचारका विषयमा बोलेको कुरा संसद्को रेकर्डबाट सहमतिका आधारमा हटाएकोप्रति आपत्ति जनाए।

“सांसदभित्र भ्रष्टाचारबारे बोल्न नपाउनु र बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु संविधानविपरीत छ । प्रतिपक्ष र सत्तापक्षको सहमतिबाट फिर्ता लिनुलाई मैले गम्भीर आपत्तिका रुपमा लिएको छु”, उनले भने, “कस्तो किसिमको संसदीय अभ्यासमा गइरहेका छौँ ? आउने पुस्तामा के हस्तान्तरण गरिरहेका छौँ ?”
 

प्रतिक्रिया दिनुहोस