काठमाडौं । स्वच्छ पिउने पानी र सरसफाइलाई थप व्यवस्थित गर्न देशभरिका अस्पतालहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसहित मन्त्रालयका अधिकारीले विभिन्न सरकारी र निजी अस्पतालमा गरेको निरीक्षणका क्रममा ती अस्पतालमा स्वच्छ खानेपानी र सरसफाइको उचित व्यवस्थापन नभएको पाइएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले उपत्यकाका वीर,सहिद गंगालाल, मेडिकेयर र उपत्यका बाहिर हेटौडा अस्पतालसहित अस्पतालको अनुगमन गरेका थिए । यसका साथै अस्पतालमा शल्यक्रिया पश्चात बिरामी राख्ने वार्डहरूमा उचित तापक्रमको व्यवस्थापनमा पनि हरेक अस्पतालले ध्यान दिनुपर्ने मन्त्रालयले अस्पताललाई स्मरण गराएको छ ।
गर्मी मौसममा सर्पदंश,आगलागी,झाडापखाला,डंगी र विपद्जन्य समस्या आइपर्दा तत्कालै बिरामीलाई उपचार सेवा पुर्याउन सक्ने गरी आवश्यक औषधि,उपकरण र चिकित्सकको व्यवस्था गर्न समेत सबै अस्पताललाई निर्देशन दिएको छ ।
गर्मीको बेला विभिन्न सरुवा रोगको प्रकोप फैलन सक्ने संभावनालाई ध्यानमा राखेर रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय स्वरुप स्थानीय स्तरका रेडियो,एफएम र पत्रपत्रिकामार्फ्त जनचेतनामूलक सूचना सम्प्रेषण गर्न समेत अस्पताललाई आग्रह गरेको छ ।
हरेक अस्पतालले उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गरि आम नागरिकको जीवन रक्षामा चौबिसै घण्टा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले मातहतका संघीय,प्रादेशिक र स्थानीय अस्पताललाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १४ : १२
लेखकबाट थप