विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको समृद्धिको आधार तयार हुने गरी विकास निर्माणको कार्य थालनी हुनुपर्ने बताउनुभएको छ ।
प्रदेश नं १ भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय आर्थिक वर्ष २०७४/७५ को आज यहाँ आयोजित प्रगति समीक्षा बैठकमा उहाँले छोटो अवधिमा विभिन्न कठिनाइ र अभावबीच पनि सडक, पुल, भवन, रंगशाला, सिँचाइ र खानेपानी योजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गर्न सफल भएकामा प्रशंसा व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राईले सडक वर्गीकरण गुरुयोजना तयार गर्नुपर्नेमा जोड दिँदै आगामी पाँच वर्षभित्र प्रदेशका सडकमा कालोपत्र देखिने गरी बजेट कार्यान्वयनको आवश्यकता औँल्याउनुभयो ।
उहाँले १ प्रदेश निर्वाचन क्षेत्रमा सडक, पुल र नदी नियन्त्रण भवन, सिँचाइ आदि क्षेत्रका आयोजना छनोट गरी कार्य गर्नुपर्नेमा जोड दिँदै जनताको विकासप्रतिको चाहना र सरकारको सुशासन कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
मुख्यमन्त्री राईले व्यवस्थित शहरको विकासका लागि ढल, सडक र फोहरमैला व्यवस्थापनका लागि स्थानीय सरकारसँगको हातेमालो गर्न प्रदेश सरकार तयार रहेको भन्दै शहरलाई कुरुप देखाउने केवलका तार भूमिगत गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्रदेशका १४ जिल्लाको एक÷एक स्थानमा एकीकृत बस्ती विकासमा निर्माण गर्न वर्तमान सरकार कटिबद्ध रहेको बताउँदै यसबाट प्रदेश सरकारको बजेट खर्च कम हुनुका साथै शहर सुन्दर र व्यवस्थित हुने धारणा व्यक्त गर्नुभयो ।
समीक्षा बैठकमा प्रदेश प्रमुख सचिव सुरेशमान प्रधानले प्रदेश सरकारले निर्माण गरेका विकासका पूर्वाधारमा देखिने गरी विस्तृत विवरण साइन बोर्ड राख्नुपर्नेमा जोड दिँदै समुन्नतिको आधार पूर्वाधार विकास भएको बताउनुभयो । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सागरकुमार राईले पाँच महिनाको छोटो अवधिमा उद्देश्यअनुरुप कार्य गर्न सफल भएको बताउनुभयो ।
समीक्षा बैठकमा आवास तथा शहरी विकास महाशाखाका प्रमुख मिलन आचार्य, सडक तथा व्यवस्थापन महाशाखाका प्रमुख रेवतीरमण पराजुली, जलस्रोत तथा ऊर्जा विकास महाशाखाका प्रमुख सयनकुमार श्रेष्ठ र प्रशासन, योजना तथा अनुगमन महाशाखाका प्रमुख अशोकुमार साह र जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय झापाका एकराज भट्टराईले आ–आफ्नो शाखाअन्तर्गत आव २०७४/७५ र आगामी आव २०७५/७६ मा गर्ने कार्यका सम्बन्धमा अवधारणा प्रस्तुत गर्नुभयो । -रासस
प्रतिक्रिया दिनुहोस