तारकेश्वरमा ‘एक घर, एक धारा’ का लगि २० लाख लिटरका पानी ट्याङ्की बनाउने

सफल खबर संवाददाता

शनिबार, ०६ जेठ २०८०, १३ : २८
तारकेश्वरमा ‘एक घर, एक धारा’ का लगि २० लाख लिटरका पानी ट्याङ्की बनाउने

काठमाडमौं । तारकेश्वर नगरपालिकाले एक घर, एक धाराका लागि नगरपालिकाभित्रका ११ वटै वडामा पानी ट्याङ्की निर्माण गर्ने भएको छ । तारकेश्वरका नगरप्रमुख कृष्णहरि महर्जनले नगरपालिकाभित्रका सबै वडामा २० लाख लिटरका ट्याङ्की निर्माण गरी नगरवासीलाई खानेपानी उपलब्ध गराउने जानकारी दिए ।

“हामी निर्वाचित भएको आज एक वर्ष पूरा भएको छ, निर्वाचित भएसँगै बसेको कार्यपालिका बैठकले गरेको एक घर, एक धारा निर्णय कार्यान्वयन गर्नका लागि प्रत्येक वडामा २० लाख लिटरका पानी ट्याङ्की निर्माण गर्न लागेका हौँ”, उनले भने । अँधेरी खोला र अल्ले खोलाको पानी तारकेश्वरमा ल्याइने उनको भनाइ थियो ।

तारकेश्वरले हाल वडा नं २ काभ्रेस्थलीका चार हजार आठ सय ७५ घरधुरीलाई एक घर, एक धाराअन्तर्गत खानेपानी योजना सुरु गरिसकेको छ । तारकेश्वरले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत एक हजार ८३ वटा योजना र ठेक्कामार्फत २६ वटा योजना सम्झौता गरी कार्यान्वयनमा अगाडि बढेको नगरप्रमुख महर्जनको भनाइ छ ।

प्रदेशस्तरीय योजनाबाट विष्णुमति करिडोर चाँडो निर्माण गर्न लागेको नगरप्रमुख महर्जनले बताउनुभयो । सो नगरपालिकाले चालु आवमा २८ वटा कार्यपालिका बैठक बसी नगर विकासको लागि जनताकै हितमा हुने गरी निर्णय गरी प्रभावकारी कार्यान्वयन गरिरहेको छ ।

तारकेश्वरले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नका लागिरु आठ करोड ४६ लाख शिक्षामा बजेट विनियोजन गरेको नगरप्रमुख महर्जनले बताए । “म निर्वाचनबाट नगरप्रमुख भएको एक वर्ष भएको छ मैले पाउने तलब भत्ता गरिब, निमुखा, असहायका लागि वितरण गर्दै आएको छु”, उनले भने ।

नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सिर्जना बुर्लाकोटी अर्यालले नगरपालिकामा बाटो मिचिएको र घरझगडाका मुद्दा बढी आउने गरेको बताए । स्थानीय तहमा परेका मुद्दा सकेसम्म स्थानीय तहमा नै टुङ्ग्याउने गरी नगरपालिकाको न्यायिक समितिले काम गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस