शिक्षण विधि, सिकाइ पद्धति र शिक्षामा सिप कार्यक्रम निरीक्षण गर्न प्रमुख शाह विद्यालय निरीक्षणमा

सफल खबर संवाददाता

शनिबार, ०६ जेठ २०८०, ११ : २७
शिक्षण विधि, सिकाइ पद्धति र शिक्षामा सिप कार्यक्रम निरीक्षण गर्न प्रमुख शाह विद्यालय निरीक्षणमा

काठमाडौँ । सामुदायिक विद्यालयमा शिक्षण विधि र सिकाइ पद्धतिको जानकारी लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले निरीक्षण अवलोकन गरेका छन । यस क्रममा उनले हिजो शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज र पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार पुगे  । गएको हप्ता दरबार हाइ स्कूलको अवलोकन गरेका थिए । 

‘म काठमाडौँ महानगरपालिकामा मेयरको रूपमा निर्वाचित भए देखि नै शिक्षा क्षेत्रको विकास र सुधारका कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखेको छु । पछिल्लो समय हरेक शुक्रवार विद्यालयमा विद्यार्थीहरुसँगै बस्ने र सँगै बसेर सिक्ने गरेको छु ।’ अवलोकनका विषयमा प्रमुख शाहले भने, ‘हिजो शुक्रवार बिहान काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयको निरीक्षण गरियो । शिक्षामा सीप कार्यक्रममार्फत विद्यार्थीहरूसँगै बसेर सिक्न मौका पाएँ । साथै बुक फ्री फ्राइडे कार्यक्रममा विद्यार्थी र शिक्षकहरूको सहभागिताको बारेमा बुझ्न पाएँ । निरीक्षण अनुगमनका क्रममा शिक्षामा सीप कार्यक्रमले विद्यार्थीको भविष्य निर्माणका लागि पार्ने प्रभावको बारेमा बुझ्ने मौका पाएँ । विद्यालयहरूको वर्तमान अवस्था, समग्र विकासका लागि आवश्यक पर्ने पूर्वाधार, स्रोतसाधन र अन्य आवश्यकताका बारेमा जानकारी लिएको छु ।’ 

शिवपुरी माध्यमिक विद्यालयमा पाक कला र मोबाइल इलेक्ट्रोनिक्स गरी २ वटा कक्षा सञ्चालनमा छन । डिल्लीबजारमा रहेको पद्मकन्या विद्याश्रममा सिपमा शिक्षा कार्यक्रमअन्तर्गत स्केचीङ र मूर्तिकला, फेसन र कपडा निर्माण जस्ता कार्यक्रममा सञ्चालन भइरहेका छन् । ‘बुक फ्री फ्राइडे’ कार्यक्रमअन्तर्गत विद्यार्थीहरू पत्रपत्रिका पठन, भाषण तथा कविता वाचन कला, खेलकुद, चित्रकला, सर्वेक्षण, विज्ञान प्रयोगशाला जस्ता विधा र क्षेत्रमा सहभागी भएका छन् । 

प्रमुख शाहले निरीक्षणको अन्त्यमा शौचालयको उपलब्धता, अवस्था र सरसफाइका पक्ष हेरेका थिए ।  

प्रतिक्रिया दिनुहोस