प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट

रासस

आइतबार, २० असोज २०८१, २० : ०८
प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले, मध्यपूर्व क्षेत्रमा २० नोभेम्बर २०२२ (२०७९ मंसिर ४) गतेदेखि कतारले आयोजना गरेको विश्वकप फुटबल व्यवस्थापनको प्रशंसा गरेका छन् ।

आइतबार उनको कार्यकक्षमा शिष्टाचार भेटका लागि आएका नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीसँगको कुराकानी गर्दै प्रमुख शाहले भने, ‘विश्वकप खेल सञ्चालन गर्न कतारमा निर्माण गरिएको रंगशालाको अन्तर्राष्ट्रिय स्तरमा ख्याति रहेको छ ।’ खेलजस्तै नागरिकलाई तत्काल र प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रमका लागि संयुक्त आयोजनामा कार्यक्रम गर्न सकिने प्रमुख शाहको भनाइ थियो ।

त्यस क्रममा राजदूत अली अन्सारीले प्रमुख शाहको कार्यशैलीको प्रशंसा गरे । उनले कतारको विकासमा नेपाली नागरिकको सहयोग रहेको उल्लेख गर्दै भने, ‘कतारमा धेरै नेपाली हुनुहुन्छ । उहाँहरूले हाम्रो विकासमा सघाइरहनु भएको छ । कतारियनहरु पनि नेपालको विकासका लागि लगानी गर्न इच्छुक हुनुहुन्छ ।’

भेटका क्रममा काठमाडौँ महानगरपालिका र दोहा नगर बिच भगिनी सम्बन्ध स्थापनाको सम्भावना, परस्पर हित र सहकार्यका विषयमा कुराकानी भएको थियो । त्यस क्रममा प्रमुख शाहले शान्तिका प्रतीक गौतम बुद्धको मूर्ति मित्रताको चिनो स्वरूप उपहार दिएका थिए ।

प्रतिक्रिया दिनुहोस