सत्य निरूपण र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्‍याउनुपर्छ : मन्त्री गुरुङ

सफल खबर संवाददाता

मंगलबार, ०२ जेठ २०८०, १३ : ०३
सत्य निरूपण र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्‍याउनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् । मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण(मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई छिट्टै टुंगोमा पुर्‍याउनुपर्ने बताएका हुन् । 

गुरुङले भने – ‘हामीले धेरै लामो यात्रा गरिसकेका छौँ । एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आएर हामीले शान्ति प्रक्रियालाई अगाडी बढाउँदै सेना समायोजन गरिसकेको, संविधान समेत लेखिसकेको । अब रह्यो हात्ती छिर्‍यो, पुच्छर अड्क्यो भन्ने सुन्ने गर्थ्यौ, त्यस्तै भएको छ । यत्रो काम गर्दै अघि बढ्यौँ तर शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सकेनौँ । हामीलाई यो अर्जेन्सी पनि छ वास्तवमा । सारा दुनियाँले हेरिरहेको छ नेपालीहरू आफैँ यत्रो शान्ति प्रक्रियामा अगाडी बढिराखेको छ । आफैले संविधान पनि लेखन पनि गरो । सेना समायोजन आफैले गर्‍यो । अब शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सक्छ कि सक्दैन भनेर दुनियाँको नजर हामी प्रति छ । यति धेरै महत्त्वपूर्ण विषयमा समितिले यसको अर्जेन्सीलाई निश्चित रूपमा बुझ्नु भएकै छ । यसलाई छिटोभन्दा छिटो प्रक्रियामा लगेर अगाडी बढाउनु हुने नै छ भन्ने मेरो विश्वास छ । मनि लाउन्ड्रिङको विधेयकमा पनि संशोधन आएको छ । हामीले समयमै टुंगो लगाउन सकेनौँ भने दुनियाँकै अगाडी लज्जित हुनुपर्ने अवस्था छ ।’

मन्त्री गुरुङले समितिले दिने निर्देशनलाई नेपाल सरकारले अङ्गीकार गर्ने बताए । त्यसैगरी बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद सुवासचन्द्र नेम्वाङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु, अदालतको फैसला र पीडितको कुरालाई मध्यनजर गर्दै अगाडी बढाउनुपर्ने बताए । उनले भने – ‘यो विधेयकलाई चाँडै राम्रो कानुन निर्माण गरेर जसमा हामीले संसद्मा आफ्नो कुरा राखिसकेका छौँ । अन्तर्राष्ट्रिय हाम्रा प्रतिबद्धताहरु छन् । सर्वोच्च अदालतका फैसलाहरू छन् । र कमसेकम पनि पीडितहरूको, धेरै पीडितहरूको आफ्ना कुरा छन् । ती सबै कुराहरूलाई समेटेर हामीले छलफल गर्दै, संशोधन प्रक्रियामा भाग लिँदै संशोधन हालेर यहाँसम्म आइपुगेका छौँ । यी सबै कुराहरूलाई समेटेर, कानुन निर्माण गरेर, बाँकी प्रक्रिया पुरा गर्न हामी सबै एक ठाउँमा उभिएका छौँ । यो राम्रो कुरा हो ।’

जनता समाजवादी पार्टीकी सांसद रञ्जु कुमारी झाले विधेयकहरूलाई दफावार छलफलमा लानुपर्ने बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सर्वप्रथम समितिले बैठकको कार्यविधि तयार गर्नुपर्ने बताइन् । 

नेपाली काँग्रेसका सांसद जीवन परियारले समितिले कार्यविधि बनाउनुपर्ने बताए । उनले विगतमा कानुन समितिले गरेका कामको प्रतिवेदन पनि अहिलेको समिति सदस्यहरूले पाउनुपर्ने माग गरे ।उनले कानुन समितिले विगतमा गर्न नसकेको कामको सन्दर्भमा पनि वर्तमान समितिलाई जानकारी गराउन समिति सचिवालयलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस