संसदीय समितिहरुको बैठक बोलाउने तयारी

सफल खबर संवाददाता

मंगलबार, १९ बैशाख २०८०, ११ : ११
संसदीय समितिहरुको बैठक बोलाउने तयारी

काठमाडौं । प्रतिनिधि सभाले १० वटा विषयगत समितिको गठन गरेसँगै संघीय संसद सचिवालयले समितिको पहिलो बैठक बोलाउने तयारी गरेको छ । प्रतिनिधि सभाको गत शुक्रबारको बैठकले १० वटा विषयगत समितिहरु गठन गरेको छ । यससँगै संघीय संसद सचिवालयले समितिको पहिलो बैठक बोलाएर समिति सभापति चयनको प्रक्रिया अगाडी बढाउने तयारी थालेको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसद सचिवालयले समितिको बैठक बोलाउने प्रक्रिया सुरू भइसकेको बताए । उनले संसद सचिवालयले समिति गठन भएको जानकारी सम्बन्धित समिति सचिवालयलाई गराइसकेको पनि बताए ।

पहिलो बैठकअघि सभामुखले संसदीय दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गर्ने संघीय संसद सचिवालयका प्रवक्ता गिरीले बताए। समिति सचिवालयले पनि समितिको ज्येष्ठ सदस्यसँग समन्वय गरेर मिति तय गरी पहिलो बैठक बोलाइने उनले जानकारी दिए ।

प्रवक्ता गिरीले सबै समितिहरुको पहिलो बैठक एकैपटक बस्नसक्ने बताए । समितिको बैठक बस्न कुनै प्रकारको बाधा नरहेको पनि स्पष्ट पारे।प्रवक्ता गिरीले सभामुखले तोकेको दिनमा समिति सभापतिको निर्वाचन हुने र सो को सूचना प्रतिनिधि सभाका सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्ने नियमावलीमा व्यवस्था रहेको बताए।

प्रतिनिधि सभामा १० वटा विषयगत समितिहरु रहेका छन् । यसको साथै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरु रहने गरी दुईवटा विषयगत समितिहरु पनि छन् ।प्रतिनिधि सभाको वैशाख १५ गतेको बैठकले समितिमा रहने सदस्यहरुको नाम सर्वसम्मतीले अनुमोदन गरेको थियो । प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य रहेका अनि मन्त्रिपरिषद् सदस्य भएकाहरु सबै समितिमा उत्तरदायी भूमिकामा रहने भएकोले विषयगत समितिहरुमा सदस्य तोकिने व्यवस्था छैन ।

प्रतिक्रिया दिनुहोस