आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, ११ : ५२
आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का ६ संसदीय समितिका बैठक आज बस्दै छन् । आज कानुन, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे सिंहदरवारमा बस्नेछ । बैठकमा युरोपियन युनियनको सुरक्षा सूची तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमति, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसल कवलहरूको सम्झौता सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आज महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरवारमा बस्नेछ । बैठकमा नेपालमा बालबालिकाको शैक्षिक विकासमा युनेस्कोले खेल्दै आएको भूमिकाका विषयमा छलफल हुनेछ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरवार बस्दै छ । बैठकमा उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि, बजार अनुगमनको अवस्था, उपभोक्ता हक संरक्षण र प्रवर्द्धन  सम्बन्धमा देखिएका समस्या र सुझाव सम्बन्धमा छलफल हुनेछ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बिहान साढे ११ बजे सिंहदरवारमा बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गरिने तयारी छ । सार्वजनिक लेखा समितिको बैठक दिउँसो ३ बजे सिंहदरवारमा बस्नेछ । 

 

प्रतिक्रिया दिनुहोस