सेन्सर पास भएन ‘काँडेतार’

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, १३ : १०
सेन्सर पास भएन ‘काँडेतार’

काठमाडौं । नवल खड्काको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘काँडेतार’ को प्रर्दशनमा रोक लागेको छ ।चलचित्रका केही संवाद र दृश्यहरूमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शनमा रोक लगाएको हो ।

सेन्सर सर्टिफिकेट प्राप्त भएपछि मात्र फिल्म हलमा प्रदर्शन गर्न पाइन्छ ।सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरेपछि केही संवाद र दृश्यहरुमा आपत्ति जनाउँदै सर्टिफिकेट नदिएको निर्देशक खड्काले बताएका छन् ।

खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित चलचित्रका सम्वाद र दृश्यहरु सेन्सर बोर्डले आपत्ति जनाई थप छलफल गर्नु पर्छ भनी सेन्सर सर्टिफिकेट नदिएको सेन्सर बोर्डले जनाएको छ ।

चलचित्रमा नवल खडका, गौरव पहारी, सुरविना कार्की ,रेबिका गुरूङ्ग, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, पुष्प श्रेष्ठ, रोमियन लिम्बू, केशव रायामाझी र बालकलाकार नादिया खड्का र सनया खड्का लगायतको अभिनय रहेको छ ।

सौरभ लामाको छायांकन रहेको चलचित्रमा माकिको राई र अन्जु केसी निर्माता रहेका छन् भने कार्यकारी निर्माता गायिका सत्यकला राई हुन् ।

प्रतिक्रिया दिनुहोस