काठमाडौं । पछिल्लो समय ‘हिति प्रणाली’ र ‘७२ सालको भूकम्प’ लगायत केहि अनुसन्धनात्मक कृति प्रस्तुत गरेपछि पब्लिकेशन नेपालय अब पाठकहरुमाझ साहित्यिक पुस्तक लिएर उपस्थित हुने भएको छ । यसै क्रममा कविता र लघुकथाका गरेर दुइवटा कृति तयार भएको छ ।
अब केहि दिनमै सार्वजनिक हुने पहिलो पुस्तक कविता संग्रह ‘ओ पेङ्दोर्जे’ हुनेछ ।युवाकवि राजु स्याङ्तानले लेखेका कविताहरुको यो संग्रहभित्र छ वटा फरक खण्ड छन् भने तिनमा ५१ वटा कविता अटाएका छन् ।
समाजशास्त्रका बिद्यार्थी राजु पेशाले कलमजीवी हुन् । पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा उनको सक्रियता रहँदैआएको छ । आफ्नो कलमबाट सिमान्तकृत समुदाय, भूमिहरण सम्बन्धी अनुसन्धान र फिचर रिपोर्टिङ गरिरहेका राजुको यो पहिलो कविता संग्रह हो ।
लेखिका मञ्जुश्री थापाका अनुसार राजुमा काब्य रचनाको असाधारण प्रतिभा छ ।‘उनका शब्दहरुमा बहुसङ्ख्यक उपेक्षित पददलितहरुको आवाज गुञ्जिन्छ,’ मञ्जुश्री भन्छिन्, ‘यो कविता संग्रह हाम्रो युगकै चेतनाको वाचाल अभिव्यक्तिका रुपमा आएको छ ।’
महोत्तरीको खयरमाराबाट अवसरको खोजीगर्दै राजधानी आएका राजुले १ सय ५१ पृष्ठको पहिलो कृतिमै समकालीन नेपालका अत्यन्त कष्टकर क्षणहरुलाई अक्षरले उभ्याउन सफल भएका छन् ।
यो पुस्तकलाई पब्लिकेशन नेपालयले एकसाथ छापा र इ(बुक मात्र नभइ ‘अडियो बुक’ का रुपमा समेत सार्वजनिक गर्ने तयारी गर्दैछ । पछिल्लो समय कविता पढ्ने मात्र नभइ आनन्दले सुन्ने सिर्जना पनि बन्न पुगेको छ । यस्तोमा नेपालयले तयार पार्नलागेको राजुको ‘अडियो बुक’ मा स्वयं कवि, गायक तथा संगीतकार आभाषको धुनपनि रहने छ ।‘ओ पेङ्दोर्जे’ कविता संग्रहलाई विमोचन लगत्तै विश्वभरिका पाठकहरुले अमेजनबाट पनि खरिद गर्नसक्ने ब्यवस्था मिलाइसकिएको छ ।
यसैगरि पब्लिकेशन नेपालयले तयार पारेको अर्को पुस्तक हो हिरण्य भोजपुरेको लघुकथा संग्रह ‘मुसुक्क म’।नेपाली संगीतको फाँटमा जानकारी राख्नेहरुका लागि हिरण्य भोजपुरे परिचित नाम हो । साढे पाँच दसकअघि नेपालमा केहि तन्नेरीहरु मिलेर साँगीतिक समूह ‘लेकाली’ जन्माएका थिए । भोजपुरस्थित ट्याम्के डाँडाको ओतमा जन्मे हुर्केका ती तन्नेरीहरुको योगदानले आजसम्म पनि नेपाली संगीतलाई प्रभाव पारिरहेकै छ । तिनैमध्येका संस्थापक हुन् हिरण्य भोजपुरे ।
वि।सं। २०२२ सालमा ‘छहराको गीत’ लेखेर गीतकारका रुपमा परिचय बनाएका भोजपुरेले त्यसयता गायकबाहेक कवि, गीतकार, कथाकार, उपन्यासकार जस्ता सिर्जनाकै विविध क्षेत्रबाटै आफुलाई चिनाउँदै आएका छन् । साहित्य र संगीतमा यसरी समानान्तर ढंगले क्रियाशील सर्जक भोजपुरेले यसपाला भने लघुकथा विधामा आफुलाई प्रस्तुत गरेका छन् ।
यस पुस्तकमा सयवटा भन्दा बढी लघुकथाहरु संग्रहित छन् । तीमध्ये अधिकांश कथाहरु एउटै पानामा सकिएका छन् । यसरी एक बसाइमै सर्सर्ती पढ्न सकिने यो रमाइलो पुस्तक भोजपुरे स्वयंको व्यक्तित्वजस्तै रसिलो अनि स्वादिलो छ ।
छ वर्षयता सिर्जना गरिएका यी लघुकथामध्ये अधिकांश कोरोना महामारीको समय सदुपयोग गर्दै लेखिएका हुन् । त्योबेला बढी समय आफूले अमेरिकामा बिताएकाले त्यहाँ बस्ने नेपाली भोगाइका प्रतिनिधि कथाहरु पनि यो पुस्तकमा समेटिन पुगेको उनी स्पष्ट पार्छन् ।
भोजपुरेकृत लघुकथा संग्रह ‘मुसुक्क म’ पनि एकैसाथ भौतिक पुस्तक, इ(बुक र अडियो बुकका रुपमा आउँदैछ भने यो पुस्तक पनि संसारभरिका पाठकले अमेजनबाट खरिद गर्न सक्नेछन् ।
यी दुवै पुस्तक निकट भविष्यमै लोकार्पण गरिने जानकारी पब्लिकेशन नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, १२ : ०७
लेखकबाट थप