एउटै समुदायले देश चलाउन खोजे देश दुर्घटनातिर जान्छ : सदस्य अमरेशकुमार सिंह

सफल खबर संवाददाता

बुधबार, ०६ बैशाख २०८०, १५ : ४२
एउटै समुदायले देश चलाउन खोजे देश दुर्घटनातिर जान्छ :  सदस्य अमरेशकुमार सिंह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले एउटा मात्रै समुदायले देश चलाउन खोजेको भन्दै देश दुर्घटनातर्फ जाने खतरा रहेको बताएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद सिंहले देश एउटै समुदायले चलाउन खोजे देश दुर्घटनामा जाने बताएका हुन् ।‘सदनमा सभामुखमार्फत रुलिङ होस् । नागरिकता विधेयक पास हुनुपर्छ ।म राज्य व्यवस्था समितिको सदस्य थिएँ पछिल्लो कार्यकालमा ।

त्यहाँ जानी जानी तत्कालीन सत्ताले नागरिकता विधेयक पास गर्न दिइएन’ उनले भने, ‘आफ्नो सांसदहरूलाई अलमल्याइ राखिएको छ । त्यसमा कोही कम छैन । किनकि नागरिकता समस्या गरिबको छोराछोरीको छ । नागरिकता समस्या उसको छ जो सत्तामा छैन ।’उनले देश दुर्घटनामा जानुमा चार/पाँच जना पूर्व प्रधानमन्त्री र प्रधानमन्त्री जिम्मेवार हुने समेत बताए । उनले देशलाई भागबन्डाका कारण विगत ३० वर्षमा अगाडि बढाउनुको सट्टा पछाडि धकेलिएको बताए । उनले हालसम्मका सत्ताले जानी जानी नागरिकता विधेयक पारित नगरेको पनि बताए ।

 

‘एउटै समुदायले देश चलाउन खोज्नुहुन्छ, देश दुर्घटनातिर जाँदै छ । म बारम्बार भन्छु । मेरो भनाई गलत होस् । तर देशको दुर्घटना बचाउनुहुन्छ ? त्यसको जिम्मेवार चार/पाँच जना पूर्व प्रधानमन्त्री र प्रधानमन्त्री हुनेछन्’ उनले भने, ‘यति म सदनमा मात्र होइन, संसारको अगाडि उभिएर भन्छु । किनकि ३० वर्षमा नेपाललाई अगाडि बढाउनुको सट्टा पछाडि धकेलियो भागबन्डाका कारण । गरिबको छोराछोरी नागरिकता पाउनु हुँदैन ।’उनले नागरिकताको सवाल कुनै पूर्व प्रधानमन्त्री र प्रधानमन्त्रीको छोराछोरीको भएको भए अहिलेसम्म नागरिकता विधेयक पास भइसक्ने टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस