घोडाबाँधेमा फहराइए १९८ देशका झण्डा

सफल खबर संवाददाता

शनिबार, ०२ बैशाख २०८०, २० : ५७
घोडाबाँधेमा फहराइए १९८ देशका झण्डा

बागलुङ । यहाँको घोडाबाँधे भ्युटारमा १९८ देशका झण्डा फहराइएको छ । भ्युटावरलाई विश्व सांस्कृतिक ग्रामका रुपमा विकास गर्न यहाँ झण्डा फहराएर सुरुआत गरिएको हो ।

जिल्लाको काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सङ्गमस्थलमा पर्ने भ्युटार क्षेत्र उच्च पहाडी क्षेत्रमा पर्छ । यहाँबाट उच्च पहाडसँगै दजर्नौं हिमशृङ्खला देखिने र विदेशी पर्यटकको रोजाइमा पर्ने भएको हुँदा भ्युटावरलाई प्रवर्द्धन गर्न थालिएको पर्यटन अभियन्ता कृष्ण केसीले बताए ।

उनले नयाँ वर्षको अवसरमा ग्लोबल कल्चर भिलेज नेपालले प्रचारप्रसार का लागि झण्डा फहराएर सुरुआत गरेको बताए । धौलागिरि–ढोरपाटन बृहत् परियोजना तयार गरेर यहाँको विकास गरिने केसीको भनाइ छ ।

यस परियोजनाअन्तरगत धौलागिरि, निलगिरि, ढोरपाटन र कालीगण्डकीको प्रवर्द्धन गरने केसी बताउँछन् । घोडाबाँधेमा संसारकै ठूलो घोडाको मूर्तिसमेत निर्माण गरिने उनको भनाइ छ ।

केसी भन्छन्, “घोडाबाँधे क्षेत्र यस्तो ठाउँ हो, जन नेपालमा बिरलै छन्, पर्यटकीय हिसाबले प्रचुर सम्भावना भए पनि प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको छ, यसको प्रचारलाई व्यापक बनाउन हामीहरूले एक सय ९८ देशका झण्डा फरफराएका छौँ, अब स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर यसको विकास गर्ने योजना बनाएका छौँ ।”

केसीले भ्युटार क्षेत्रलाई ‘वल्ड कल्चर भेलेज’का रुपमा विकास गर्ने बताए। उनले विश्वका कला, संस्कृतिलाई यहाँ संरक्षित गरी आन्तरिक तथा बाह्य पर्यटक बनाउने योजना बनाएको सुनाए । गण्डकी प्रदेशसभा सदस्य कुसुम बुढा मगरले स्थानीय भूगोल, सम्पदा, संस्कृतिको पहिचान र चिनारीबाट पर्यटन प्रवर्द्धन गर्न स्थानीय जनसमुदाय जागरुक हुन आवश्यक रहेको बताए ।

जिल्लामा अनगिन्ती पर्यटकीय क्षेत्र रहेको र ती क्षेत्र प्रचारप्रसारका कारण पछाडि परेको बताए । भ्युटावरको प्रचारप्रसारका लागि गलकोट नगरपालिकाका, जैमिनी नगरपालिकाका बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चासो दिएका छन् ।

प्रतिक्रिया दिनुहोस