काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरूमा गम्भीर समस्याहरू देखापरेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गरेका हुन् ।कुनै जहाजको पाङ्ग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरू अलपत्र बन्ने स्थिति पछिल्लो समय देखापरेको उल्लेख गर्दै सांसद पौडेलले सो समस्यालाई गम्भीरतापूर्वक लिन पनि सरकारलाई सचेत गराए ।
पौडेलले भने, ‘पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भीर त्रुटिहरू देखिएका छन् । कुनै जहाजको पाङ्ग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरू अलपत्र बन्ने स्थिति बनेको छ । हिजो मात्रै नेपाल वायु सेवा निगमको विमान दुबईबाट काठमाडौँ उड्नै लाग्दा पाइलटलाई पखाला चलेपछि ५४३ यात्रु अलपत्र परे । पछिल्लो रिपोर्टले प्रष्ट भन्छ, नेपालमा हवाई दुर्घटनाका पछाडि इन्जिनले काम नगरेको जस्ता यान्त्रिक कारण भन्दा व्यवस्थापकीय पक्षमा चुक्दा बढी दुर्घटनाहरू हुन्छन् । तर, सम्बन्धित निकायको नेतृत्व यस विषयमा बेखवर जस्तै छ ।
’‘सभामुख महोदय, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राखेका छन् । तर हाम्रोमा यस विषयलाई किन गम्भीरतापूर्वक लिइँदैन ? त्यसैले यस सम्मानित संसदमार्फत् म सरकारलाई आग्रह गर्न चाहन्छु–हवाई क्षेत्रमा देखिएका समस्यालाई गम्भीरतापूर्वक लिइयोस् । उचित व्यवस्थापनका लागि दिगो समाधान खोजियोस्,’ उनले थपे । सांसद पौडेलले सरकारले मुलुकको हवाई क्षेत्रको गरिमा थप गुम्न नदिने गरी उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ चैत्र २०७९, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस् : सांसद पौडेल