नगर प्रमुखको सट्टामा एसईई दिने नक्कली परीक्षार्थी पक्राउ

सफल खबर संवाददाता

आइतबार, १९ चैत्र २०७९, १३ : ३८
नगर प्रमुखको सट्टामा एसईई दिने नक्कली परीक्षार्थी पक्राउ

रौतहट । नगर प्रमुखको सट्टा विद्यालय शिक्षा परीक्षा (एसईई) दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहको सट्टामा एसईई दिंदै गरेका गरुडा–६ पोठियाहीका कमल साह पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्लाको मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई जिल्ला प्रशासन कार्यालयको परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका साह पेशाले इन्जिनियर रहेको र नगर प्रमुख साहको ज्वाइँ रहेको बुझिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र झाले नक्कली परीक्षार्थी पक्राउ परेको पुष्टि गर्दै उनले नगरप्रमुख साहको सट्टामा परीक्षा दिएको हो कि होइन भन्ने पक्राउ परेका साहको वयान पछि पुष्टि गर्ने बताए।

यस सम्बन्धमा नगर प्रमुख साहसँग प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन्। यस विषयमा जिल्लाका सुरक्षा निकायका जिम्मेवारी पदाधिकारी कसैले प्रष्टसँग प्रतिक्रिया दिन मानेका छैनन्।

प्रतिक्रिया दिनुहोस