खोटो सङ्कलन गर्दै सामुदायिक वन समूह

सफल खबर संवाददाता

विहीबार, १६ चैत्र २०७९, १० : ४८
खोटो सङ्कलन गर्दै सामुदायिक वन समूह

दाङ । दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिँदैछ । वन समूहबाट यस वर्ष करिब रु नौ लाख ३९ हजार बराबरको  ७८ हजार दुई सय ५६ किलो खोटो सङ्कलन गरिएको छ । डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरिद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो रु १२ र निकासी कर प्रतिकिलो रु १२ राजस्व तिर्ने गरेका छन् । “वन समूहबाट वार्षिकरुपमा सल्लाको खोटो निकाल्ने काम भइरहेको छ”, उनले भने । 

जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले खोटो बिक्री गरेर वार्षिक लाखौँ आम्दानी गर्दैआएका छन् । तर बोक्रा ताछेर सल्लाको रुखबाट खोटो निकाल्दा रुख गर्न थालेका स्थानीयले बताएका छन् । वन समूहले खोटो बिक्री गरेर भएको आम्दानीबाट सामाजिक कार्यमा खर्च गर्ने गरेका बङ्गलाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले जानकारी दिए । सो वन समूहले यस वर्ष करिब रु दुई लाख ५० हजारको खोटो बिक्री गरेको छ । उक्त वन समूहबाट दीपमाला रोजिन टर्पिनटाइन कम्पनी, बाँकेले प्रतिकिलो रु १२ का दरले खोटो खरिद गर्दैआएको छ ।

वन समूहका सचिव गाहामगरका अनुसार ओखलढुङ्गा सामुदायिक वन समूहले यस वर्ष करिव २२ हजार पाँच सय किलो खोटो बिक्री गरेको छ । वन समूहले अनुमति दिएपछि कम्पनीले खोटो सङ्कलन गर्छ । खोटो मात्र निकाल्दा रुखलाई फरक नपर्ने भए पनि सुक्खा समयमा डढेलो लाग्दा रुखलाई असर गर्ने गरेको छ । “रुखबाट कम्तीमा आठ–नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिन्छ । आगोले भेटे रुख मर्छ”, उनले भने, “खोटो निकाल्दैमा रूख केही हुँदैन, आगोबाट भने बचाउनु पर्छ ।”

त्यसैगरी वडा नं ८ कै गोगनपानी समुदायिक वन समूहले खोटो बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष मुक्तिराम गाहामगर बताउछन् । सल्लाको रुखबाट वैशाख–जेठदेखि मङ्सिर–पुससम्म खोटो सङ्कलन गर्ने गरिन्छ । “चिसो मौसममा खोटो कम निस्किन्छ, गर्मी याममा खोटो सङ्कलन गरिन्छ”, उनले भने । बङ्गलाचुली–८ मा ओखलढुङ्गा, गोगनपानी र दैलेढुङ्गा सामुदायिक वन समूहले खोटो सङ्कलन गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस