चितवन । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन पाएका चितवनका १७ मध्ये २ वटा क्याम्पसमा मात्र स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन भइरहेको छ । माडी नगरपालिकाको माडी क्याम्पस र पूर्वी चितवनको टाँडीमा रहेका शहीद स्मृति क्याम्पसमा मात्र स्ववियुको चुनाव भएको हो ।
धेरै विद्यार्थी भएका क्याम्पस बीरेन्द्र बहुमुखी क्याम्पस, रामपुर कृषि क्याम्पस, इन्जिनिरिङ क्याम्पसमा स्ववियूको निर्वाचन हुन सकेको छैन । सम्वन्धन पाएका ठूला कलेजहरू सप्तगण्डकी बहुमुखी क्याम्पस र बालकुमारी कलेजमा पनि चुनाव स्थगित भएको ती कलेजका क्याम्पस प्रमुखहरूले जानकारी दिए । कलेजमा विद्यार्थी संगठनहरूले नै तालावन्दी गर्ने, तोडफोड गरेर निर्वाचनको काम गर्न नदिएपछि स्थगित गरेको क्याम्पस प्रमुखहरुको दाबी छ ।
निर्वाचन स्थगित गरेको भन्दैं एमालेको अनेरास्ववियुले भरतपुरको सप्तगण्डकी क्याम्पसमा आइतवार विहान विरोध प्रदर्शन गरेको छ । एक हप्ताभित्र चुनाव गर्न नसके क्याम्पस प्रमुख र सञ्चालक समितिका अध्यक्षलाई राजीनामा दिन भनिएको अनेरास्ववियुका इकाई अध्यक्ष महेश सापकोटाले बताए ।
साना विद्यार्थी संगठनको ताला फोडेको प्रशासनले ठूला पार्टी निकटका विद्यार्थी संगठनले ताला लगाउँदा मौन बसेको विद्यार्थी संगठनहरुको गुनासो छ । जिल्ला प्रशासन कार्यालय चितवनले फागुन ३० गते विहानै जिल्लाका सबैजसो क्याम्पसमा साना विद्यार्थी संगठनले लगाएको ताला फुटाएको थियो । तर, त्यसपछि लगाएका ताला खोल्ने बारेमा भने खासै चासो दिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ चैत्र २०७९, १५ : ४०
लेखकबाट थप