नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को तयारी पूरा

सफल खबर संवाददाता

बुधबार, ०१ चैत्र २०७९, १९ : ४२
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को तयारी पूरा

काठमाडौं। चैत्र २ गतेदेखि ६ गतेसम्म छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निफले यस बारेमा जानकारी गराएको हो।

निफले महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जनाएको छ। निफको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् भने समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीबाट हुने आयोजकले बताएको छ।

कार्यक्रममा बोल्दै निफ महोत्सवका निर्देशक यादव भट्टराईले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए। उनले महोत्सवको तयारीका लागि निफ टिम विगत तीन महिना यता लागिपरेको बताए। 

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले निफले चलचित्रसँग प्रत्यक्ष सम्बधित कार्यक्रम गर्दै आएको र अपेक्षित रुपमा सफलता पाइरहेको बताए। उनले निफ असाध्यै महत्वपूर्ण कार्यक्रम रहेकाले सबै चलचित्रकर्मीहरु सहभागी हुन र चलचित्र हेर्नका लागि दर्शकहरु पनि उपस्थित हुनुपर्ने उल्लेख गरे। उनले चलचित्रमा भएको क्षतिलाई प्रधानमन्त्री कार्यक्रममा सहभागी भएर वचनवद्धता गर्ने आशा राखेको बताए। 

कार्यक्रममा निफका अध्यक्ष केपी पाठकले यस पटकको महोत्सवमा ५० जना भन्दा बढी फिल्म मेकरहरु बाहिरी देशहरुबाट आउने जानकारी दिए। उनले निफलाई विश्वास गरेर विगत झैं यसपटक पनि राम्रा फिल्म र फिल्म मेकरहरुले मेलामा सहभागिता जनाउने बचन दिएको बताए। मेलाले फिल्मकर्मीहरुबीच छलफल र भेटघाटको अवसर मिल्ने उनको भनाइ थियो। 

५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएको आयोजकले बताएको छ। यी चलचित्रको प्रदर्शन चार वटा काठमाडौंका अत्याधुनिक सिनेमा हलहरु सिभिल मल, छायाँ सेन्टर, पुलचोकको लविङ मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन हुनेछ।

ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र चरी प्रदर्शन हुनेछ। उल्लेखित सिनेमा हलहरुमा खल्ती एपबाट टिकट बुकिङ गर्न सकिनेछ। यसपटक सात विधामा १४ वटा पुरस्कार वितरण गरिने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस