प्रदेशमा संघीयता पक्षधर भएकाले काम गर्न सजिलो छ : मुख्यमन्त्री यादव

सफल खबर संवाददाता

शनिबार, २७ फागुन २०७९, ०९ : ४०
प्रदेशमा संघीयता पक्षधर भएकाले काम गर्न सजिलो छ : मुख्यमन्त्री यादव

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निजामती कर्मचारी र प्रहरी समायोजन भएको खण्डमा प्रदेश सरकार पूर्वाधार निर्माणलगायत सबै काम गर्न सक्षम रहेको दावी गरेका छन्।

प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारेको जिज्ञासामा उनले कर्मचारी र प्रहरी समायोजन भएपछि सम्पूर्ण पूर्वाधार निर्माण र सबै विकासका काम गर्न प्रदेश सरकार सक्षम हुने बताए। मुख्यमन्त्री यादवले भने, ‘सबैभन्दा पहिला काम गर्ने जनशक्ति हुनुपर्‍यो। बिना कर्मचारी मन्त्री र मुख्यमन्त्री भएर मात्रै केही गर्न सकिन्न। केन्द्रीय सरकारसँग यही अनुरोध छ, निजामती र प्रहरी समायोजन गरिदिनूस्।’

प्रदेश सरकार पूर्णरुपमा ‘फङसन’मा आएपछि देशमा विकासको गति धेरै अगाडि बढ्ने उल्लेख गर्दै उनले संघीय सरकारसँग त्यसका लागि निजामती ऐन तुरुन्तै पास गरेर कार्यान्वयनमा ल्याउन सुझाव दिए। प्रदेशका पूर्वसभामुखसहित रहनुभएका यादवले भने, ‘शान्ति सुरक्षा र भ्रष्टाचार न्यूनीकरणका लागि प्रदेश प्रहरी पनि समायोजन गर्नुपर्छ। बिना प्रहरी र प्रशासनको सरकार चल्न सक्दैन।’

तीन तहको सरकारमध्ये सबैभन्दा समस्या प्रदेश सरकारले नै झेल्नुपरेको बताउँदै उनले मुलुक सङ्घीय संरचनामा प्रवेश गरेपछि भौतिक संरचनाको अभावमा प्रदेश सरकार र सभाका नेतृत्वले नै आफूलाई चाहिने कुर्सी र टेबल किनेर कार्यालय सञ्चालन गर्नुपरेको घटना सुनाए।

मुख्यमन्त्री यादवले भने, ‘सङ्घ र स्थानीय तहमा पहिले नै संरचना भएकाले कुनै खास चुनौती झेल्नुपरेन, तर प्रदेशमा भने कुनै पनि भौतिक संरचना थिएन। आफूलाई चाहिने सामान आफैँले जोहो गरेर कार्यालय सञ्चालन गर्नुपर्ने परिस्थितिको सामना गरियो।’

प्रतिक्रिया दिनुहोस