सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सफल खबर संवाददाता

आइतबार, २१ फागुन २०७९, १६ : १२
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।आइतबार बसेकाे प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री शाहले पेश गरेकाे विश्वासकाे मत सम्बन्धि प्रस्तावकाे पक्षमा ४१ र विपक्षमा ११ मत परेकाे हाे ।

सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेकाे प्रस्तावकाे पक्षमा बहुमत सदस्यले मतदान गरेकाे भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएकाे घाेषणा गरेका हुन् । याे मत ५३ सदस्यीय प्रदेशसभाकाे दुई तिहाइ भन्दा बढि हाे ।

२६ माघमा संविधानकाे धारा १६८ काे उपधारा(३) अनुसार ठूलाे दलकाे हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहलाई कांग्रेसका १९, माओवादी केन्द्रका (सभामुख बाहेक) १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा.तारा जाेशीले विश्वासकाे मत दिएका हुन् ।

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।विश्वासको मत दिने दलहरुले शाह नेतृत्वको सरकारमा सहभागीसमेत हुने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस