आँबुखैरेनीमा हाटबजार सञ्चालन

सफल खबर संवाददाता

शनिबार, २० फागुन २०७९, १२ : ११
आँबुखैरेनीमा हाटबजार सञ्चालन

तनहुँ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले कृषकका लागि हाटबजार सञ्चालनमा ल्याएको छ ।स्थानीय तहमा उत्पादन भएका वस्तु सहजरूपमा बिक्री–वितरण गर्न दिने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको हो ।

हाटबजारको शुक्रवार राष्ट्रियसभा सदस्य सुरेश आलेमगर र गाउँपालिका अध्यक्ष शुक्र चुमानले संयुक्त रूपमा उद्घाटन गरे । सो अवसरमा सांसद आलेले हाटबजार स्थापनासँगै स्थानीयस्तरमा उत्पादित वस्तुले सहजरूपमा बजार पाउन सक्ने बताए ।
 
आँबुखैरेनी–३ मा १० वर्षका लागि जग्गा भाडामा लिएर ट्रस्ट निर्माण गरी हाटबजार बनाइएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए । गाउँपालिका कार्यालयको करीब ४० लाख रुपैयाँ लागतमा वार्षिक २ लाख ५० हजार भाडा बुझाउने शर्तमा जग्गा लिएर हाटबजार निर्माण गरेको उनले बताए ।

कृषि, पशु, बाँसजन्य, मह, घिउ, मकै, भटमास, तरकारी लगायतका स्थानीयस्तरमा उत्पादित वस्तु बिक्री–वितरणका लागि व्यवस्था मिलाइएको छ । छिमेकी जिल्ला गोरखामा शनिबार सञ्चालन गरेकाले हप्तामा १ दिन शुक्रवार हाटबजार सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरेको छ ।कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्य लगायतका वस्तु सुपथ मूल्यमा बिक्री वितरणका लागि व्यवस्था मिलाइने सूचना अधिकारी इन्जिनीयर निरोज श्रेष्ठले जानकारी दिए ।

गत वर्ष नै हाटबजार सञ्चालनमा ल्याउन लागे पनि कोरोनाका कारण शुरू गर्न सकिएको थिएन । अहिले सहज स्थिति भएकाले हाटबजार सञ्चालनमा ल्याइएको हाटबजार उद्घाटन कार्यक्रम व्यवस्थापन समितिका संयोजक सन्तोष केसीले जानकारी दिए ।

हाटबजार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ बमोजिम अगुवा कृषक, बुद्विजीवी, वडाका प्रतिनिधि, उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई प्रतिनिधि, व्यवसायी लगायतको कार्यसमिति गठन गरेर काम गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस