फिल्म ‘प्रेमा’ चैत १७ बाट प्रदर्शनमा आउँदै

सफल खबर संवाददाता

विहीबार, १८ फागुन २०७९, १३ : ५०
फिल्म ‘प्रेमा’ चैत १७ बाट प्रदर्शनमा आउँदै

 काठमाडाैं।त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म ‘प्रेमा’ आउँदो चैत १७ अर्थात मार्च ३१ बाट प्रदर्शनमा आउँदैछ ।गोविन्द सिंह भण्डारी निर्देशित फिल्ममा सुवेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ ।फिल्ममा गोविन्द र विवेक घिमिरेको लगानी छ । अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने विवेक फिल्म ‘चिनी कम रङ कडा’का निर्देशक समेत हुन् । विवेक नेपालमा नेपाली कथा खोज्न मन पर्ने भएकाले ‘प्रेमा’मा लगानी गरेको बताउँछन् । ‘विदेशमा पनि नेपाली कथाहरू भेटिन्छन् । तर नेपालमा जस्तो नेपाली कथाहरू भेटिँदैन’ – उनी भन्छन् ।

सन् ८० र ९० को दशकबीचमा हुर्किएका विवेकको सम्झनामा त्यो समयमा मनोरञ्जनका लागि धेरै विकल्प थिएनन् । ‘बाल्यकालदेखि नै फिल्म हेरेर रमाउँथे । त्यही समयदेखि फिल्म निर्माण सम्बन्धी अध्ययन गर्छु भनेर प्रण लिएँ । जुन प्रणलाई डिग्रीमार्फत पुरा गरें’, विवेकको भनाइ छ ।विवेक ‘प्रेमा’को नौलो स्क्रिप्टमा आफू तानिएको दाबी गर्छन् । उनले स्क्रिप्टपछि निर्देशक गोविन्दको काम गर्ने शैलीबाट आफू प्रभावित भएकाले पनि फिल्मसँग जोडिएको बताए । ‘गोविन्दजी र मैले पहिला ‘चिनी कम रङ कडा’मा सहकार्य गरिसकेका थियौं । मलाई फिल्म निर्माणमा चासो पहिलादेखि नै थियो । मेरो अगाडि प्रेमाको स्क्रिप्ट आएपछि त्यसको कथावस्तुले लगानी गर्न आकर्षित गर्यो’, विवेकले भने । 

विवेकलाई सबै जनराका फिल्म मन पर्छ । त्यही कारण उनी एक्सन, प्रेमकथा, कलात्मक र साङ्गीतिक फिल्म हेर्न छुटाउँदैनन् । उनी राम्रो जनराको कन्सेप्टमा स्क्रिप्ट आउँदा लगानी गर्न उत्साहित हुन्छन् ।

विवेकका अनुसार उनले ‘प्रेमा’लाई अमेरिकासहित विश्व बजारमा रिलिजको तयारी गरिरहेका छन् । ‘हामीले यसका बारेमा योजना र रणनीति बनाइसकेका छौं’, उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस