काठमाडौँ । वैदेशिक रोजगार विभागमा जाने सेवाग्राहीले परिचय खुल्ने कागजपत्र देखाउनुपर्ने भएको छ । अनावश्यक भिडभाड बढेको भन्दै विभागले सेवाग्राहीलाई सेवा लिन आउँदा आफ्नो परिचय खुल्ने कागजपत्र लिएर आउन भनेको हो ।
विगत केही दिनदेखि विभागमा नियमित कार्यसम्पादनको सिलसिलामा पीडितको नाममा कानुन, विधि र प्रक्रिया विपरीतका कार्य गर्दै आउने गरेको भन्दै विभागले कडाइ गरेको हो ।
कार्यालय भित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गरी कार्यालयमा आतंक मच्चाउने, काम गर्ने वातावरण प्रभावित गर्ने लगायतका कार्यहरु बढ्दै गएको विभागले जनाएको छ ।
यस्ता अमर्यादित कार्य एवं क्रियाकलापले गर्दा सेवाग्राहीलाई सेवा प्रवाह गर्न समस्या भइरहेको विभागको भनाई छ । विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसालले एक विज्ञप्ति जारी गर्दै कार्यालयको काम कारबाहीसँग कुनै गुनासो भएमा कानुनी प्रक्रिया बमोजिम गुनासो लिएर आउन भनिएको छ ।
कार्यालयको कार्य वातावरणलाई शान्त र सुव्यवस्थित बनाई असम्बन्धित व्यक्तिको प्रवेशलाई व्यवस्थित गर्न विभाग प्रवेशमा केही कडाइ गरिएको सूचना अधिकारी भुसालको भनाई छ ।
विभागमा काम लिएर आउँदा सेवाग्राहीले आफ्नो परिचयपत्र खुल्ने कागजात लिई विभाग प्रवेश गर्नुपर्ने उनले बताए । अनावश्यक भिडभाडले कार्य सम्पादनमा निकै समस्या आएपछि यस्तो निर्णय गर्न बाध्य भएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक उमाकान्त आचार्यले कानुनी विपरीत भएर काम गर्न अनावश्यक दबाब पर्ने गरेको बताए । ‘कुनै व्यक्ति पीडित भएमा कानुनी उपचार गर्न पनि प्रक्रिया अनुसार जानुपर्छ । तर, मान्छेको हुलहुज्जत लिएर आउने, अनि अनुचित कार्य गर्न दबाब दिने, नाराबाजी गर्ने जस्तो कार्यले काम गर्नै गाह्रो भयो । त्यसैले उनीहरूलाई रोक्न परिचयपत्र लिएर मात्र आउन भनेका हौं,’ महानिर्देशक आचार्यले भने ।
विशेषगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू पीडित भएर आएपछि युट्युरहरूमार्फत जाने गरेका छन् । जसले गर्दा विभागलाई काम गर्न निकै गाह्रो भइरहेको भन्दै कर्मचारीहरूले यस्तो अवस्थामा काम गर्न नसक्ने बताउँदै आएका छन् । अहिलेको निर्णयले सेवाग्राहीलाई केही असहज भएपनि बाध्य भएर यस्तो कदम चालिएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दशैंको बेला नयाँ श्रम स्वीकृति दिन बन्द हुने
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन विभागको चेतावनी
वैदेशिक रोजगार विभाग प्रवेशमा कडाइ
सरकारले म्यानपावर व्यवसायीसँग माग्यो ‘फ्री भिसा फ्री टिकट’ मा कामदार पठाएको विवरण