चलचित्र ‘फूलबारी’को अग्रिम टिकट बुकिङ खुला

सफल खबर संवाददाता

सोमबार, ०१ फागुन २०७९, १५ : ४५
चलचित्र ‘फूलबारी’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुन ५ देखि प्रदर्शनमा आउन लागेको चलचित्र फूलबारीको अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।रामबाबु गुरुङ निर्देशित चलचित्रको आइतबारदेखि नै बुकिङ खुला गरिएको हो । केहि हल भने शो खोल्ने तरखरमा छन् । काठमाडौं लक्षित मल्टिप्लेक्समा चलचित्रले ३५ प्रतिशत शो पाएको छ । जुन औसत हो । बलिउडको ‘शेहजादा’ र हलिउडको ‘एन्ट-म्यान एण्ड द वास्पस् क्वान्टुमेनिया’सँगको प्रतिस्पर्धाका कारण मल्टिस्टारर ‘फूलबारी’ले उल्लेख्य शो पाउन सकेन ।

तर, प्राप्त शो संख्या कमजोर भने होइन । चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको खण्डमा महाशिवरात्री, प्रजातन्त्र दिवस र ग्याप्लो ल्होसारको बिदामा शोज बढ्न सक्छ ।रामबाबुको पछिल्लो रिलिज चलचित्र ‘कबड्डी’ ४ ले ८८ प्रतिशत शो पाएको थियो । जुन यस वर्ष रिलिज नेपाली चलचित्रको हकमा सर्वाधिक हो ।

‘फूलबारी’ले क्युएफएक्स चेनमा २९ शो पाएको छ । यस्तै, अन्य चेन आइएनआइमा ९, वान सिनेमाजमा ८ र सिनेप्लेक्समा सिनेमाले ७ शो पाएको छ । बिग मुभिजमा ६ शो पाएको चलचित्रलाई रन्जना सिनेप्लेक्सले ५ र बिएसआर मुभिजले २ शो दिएका छन् ।

यस्तै, एफक्युब र किर्तिपुर सिनेप्लेक्समा चलचित्रले समान ३-३ शो पाएको छ । यो समाचार तयार पार्दासम्म क्युज र सिडिसी भने शो खोल्ने प्रक्रियामा छन् ।पारिवारिक कथामा निर्मित चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित चलचित्रमा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको यस चलचित्रमा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।

प्रतिक्रिया दिनुहोस