गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

सफल खबर संवाददाता

शुक्रबार, २९ पुस २०७९, १५ : १०
गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन् ।

प्रदेशसभाको अध्यक्षता गरेका एमालेबाटै निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले मतदानमा भाग लिएनन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहे । मनाङेले मन्त्री नबन्ने संकेत पाएपछि बिहीबार खगराजलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने बताएका थिए । एमाले संगठन विभाग प्रमुख खगराजलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ पुसमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।

संघमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई गण्डकीमा पनि खगराजले आफूलाई विश्वासको मत दिन पत्र नै लेखेर अपिल गरेका थिए । तर, शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत नदिएर प्रतिपक्षमा बस्ने निर्णय गर्‍यो ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार गण्डकीमा खगराज प्रदेशसभाको ५ वर्षे कार्यकालको पूरा समय मुख्यमन्त्री रहने छन् । तर, माओवादी संसदीय दलका नेता तथा खगराजको पहिलो मन्त्रिपरिषदका सदस्य हरिबहादुर चुमानले गण्डकीमा पनि आलो पालो नै हुने दाबी गरिरहेका छन् ।

गण्डकीको मुख्यमन्त्री बन्ने योजनासहित प्रदेश झरेका एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारी ५ दलीय गठबन्धन कायमै रहेको भए मुख्यमन्त्री बन्ने सम्भावना थिएन । कांग्रेस नेतृत्वमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने तयारीमा थिए । तर, केन्द्रमा सत्ता समीकरण फेरिएसँगै खगराज पनि मुख्यमन्त्री बन्ने पक्का भएको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमालेलगायतको समर्थनमा प्रधानमन्त्री बन्ने र प्रदेशमा खगराज एमाले संसदीय दलको नेता बन्नु एकै बेला पर्‍यो । फेरि प्रदेशमै दोहोरिन चाहेका एमाले उपमहासचिव तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उछिनेका खगराजले भने टिकट संघकै चाहेको बताउँदै आएका थिए ।

२०७्र० सालमा सांसद नभएरै पनि शुसील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका खगराज नेकपा विवाद चरम उत्कर्षमा हुँदा १३ दिने गृहमन्त्री बनेका थिए ।०४८ सालदेखि चुनाव लडेका खगराज यसपटक कास्की–१ (१)मा माओवादीका दीपक कोइरालालाई हराउँदै सांसद बनेका हुन् ।

२०४८ यता ६ वटा निर्वाचन लडेका खगराजले ३ पटक जितेका छन् । २०४८ मा रातानाथ रानाभाटसँग पराजित अधिकारीले २०५१ को उपनिर्वाचनमा उनैलाई हराएका थिए । २०७४ सालको आम चुनाव जितेका खगराजले २०४८, २०५६ र २०६४ मा हार व्यहोरका थिए ।

स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय सदस्य र पोखराको पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु सभापति हुँदै राजनीतिक सिंढी उक्लिँदै गएका खगराज २०६५ सालमा नेकपा एमालेको केन्द्रीय सदस्य चुनिएका थिए । दशौं महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्यतथा संगठन विभाग प्रमुख छन् ।

गण्डकी प्रदेशमा तेस्रो मुख्यमन्त्री बनेका खगराजले विश्वासको मत पाएसँगै उनले कस्ता कार्यक्रम र काम गर्छन् भन्ने धेरैको नजर उनीतिरै छ ।

प्रतिक्रिया दिनुहोस