काठमाडौं । गृह मन्त्रालयका अनुसार विगत एक वर्षयता चट्याङका कारण देशभर एक सयले ज्यान गुमाएका छन् । विशेष गरी नेपालमा चैतदेखि जेठसम्मको समय अर्थात् वर्षायामपूर्वको याम ‘प्रि मनसुन’मा चट्याङ धेरै पर्ने गरेको बताइन्छ ।
चट्याङका कारण ठूलो जनधनको क्षति हुने गरेपनि सम्बद्ध निकायको बेवास्ता र जनचेतनाको अभावका कारण जोखिम कम गर्न नसकिएको विज्ञहरुको भनाई छ । केही सतर्कता अपनाए चट्याङबाट बच्न सकिन्छ ।
चट्याङप्रतिरोधी घर
घरको माथि तामाको त्रिशुल वा रड राखेर त्यसलाई जीआइ पाताले जोडेर घर मुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्दा चट्याङबाट जोगिन सक्ने विज्ञ श्रीराम शर्मा बताउँछन् ।
सावधानी
बिहानको समयमा खेतबारीमा जान तथा घाँसदाउरा बटुल्ने काम गर्न र दिउसो ३ देखि ४ बजेपछिको समय बढी चट्याङ पर्ने भएकाले त्यतिबेला सकेसम्म घरमै रहन विज्ञहरु सुझाउ छन् ।
उच्चस्थानमा सतर्कता
चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरको नजिक नबस्न र अग्ला रुखमुनि ओत नलाग्न विज्ञहरुको सुझाव छ । प्रायजसो जमीन र बादलको दुरी कम भइरहने पहाडी भूभागमा विशेष सजग रहनुपर्ने उनीहरुको मत छ ।
चट्याङबाट बच्ने विधिः
यदि कसैमाथि चट्याङ परेको छ भने तत्काल डाक्टर बोलाइहाल्नु उचित हसन्छ । चट्याङ लागेर घाइते भएकालाई छुदैंमा केही हुदैन (चट्याङ लागेका मानिसमा विद्युतीय करेन्ट बाँकी हुँदैन, त्यसैले घाइतेलाई छुँदा अरु व्यक्तिमा करेन्टको झट्का लाग्दैन) ।
यदी कसैलाई चट्याङ लागेको छ भने सो व्यक्तिको तत्काल नाडी छाम्नुपर्छ र प्राथमिक उपचार सम्बन्धी केही ज्ञान छ भने दिइहाल्नुपर्छ ।
प्रायजसो टाउकोबाट करेन्ट प्रवेश गर्ने र खुट्टाबाट बाहिरिने हुनाले उनीहरुको टाउको र खुट्टा जलेका हुन्छन् ।
पीडितको हड्डी भाँच्चिएको पनि हुन सक्छ, र सुन्ने शक्ति वा हेर्ने शक्ति समाप्त भएको हुन सक्छ । यी कुराको राम्रोसँग जाँच गर्नुपर्छ ।
अन्तिम पटक बिजुली चम्केको तीस मिनेटसम्म पर्खन राम्रो हुन्छ । किनकि, चट्याङ्बाट हुने आधाजसो मरणका घटना त बिजुली चम्कन बन्द भइसकेको जस्तो लागेको बेला हुने गर्छ ।
चट्याङ पर्न लागेको समयमा थचक्क बस्नुपर्छ, हातलाई घुँडामा टेकाएर टाउको तिनको बीचमा राख्नु उचित हुन्छ । रुख, तारबार र खम्बाहरुबाट टाढा भुईसतहमा बस्नु राम्रो हुन्छ ।
छाता खोल्ने वा मोबाइल फोन प्रयोग गर्नु हुँदैन किनभने यिनमा भएका धातुले करेन्टलाई शरिरतर्फ तान्न मद्दत पुर्याउन सक्छ । एकै ठाउँमा चट्याङ दोहोर्याएर कहिल्यै पर्दैन भन्ने भनाई गलत हो । त्यसैले यसबाट बच्न होशियार हुनैपर्छ ।
प्रतिक्रिया दिनुहोस