अदालतबाट सेटिङमा दुगड फुड एन्ड बेभरेज कम्पनीलाई सफाई

मंगलबार, १९ असार २०७५, १९ : ३७
अदालतबाट सेटिङमा दुगड फुड एन्ड बेभरेज कम्पनीलाई सफाई

काठमाडौं ।  नेपालमा पहुँच र पैसा नभएका लागि मात्र कानुन लाग्छ भन्ने कुरा फेरि एकपटक प्रष्ट भएको छ । म्याद गुज्रिएको जुस बेचेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको आरोप लागेका  दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीलाई जिल्ला अदालत काठमाडौं र जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेटिङको आधारमा उन्मुक्ति दिएको छ ।

गत असोजमा प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दाष्र गरेको थियो । कम्पनीका ११ जनाविरुद्ध २३ करोड ठगी तथा कालोबजारी मुद्दा दायर भएको थियो । दुवै मुद्दामा कम्पनीलाई सफाई दिइएको छ ।
कम्पनीबाट २३ करोड रुपैयाँ बराबरको म्याद गुज्रिएको फ्रुटी तथा कच्चा पदार्थ बरामद भएकाले सोहीअनुसारको बिगो मुद्दा दायर गरिएको थियो । कम्पनीका मुख्य सञ्चालक मालचन दुगडसहितलाई ठगी र कालोबजारी ऐनअनुसार मुद्दा  चलाइएको छ । सबैलाई दुवै निकायले सफाई दिएकमा छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा १२ भदौमा कम्पनीको सतंगुलस्थित कार्यालयमा ठूलो परिणाममा म्याद गुज्रिएका कच्चा पदार्थबाट बनाइएको फ्रुटी बरामद गरेको थियो । मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने गरी कम्पनीले कुहिएका आँपको गुदीबाट फ्रुटी बनाउँदै आएको भेटिएको थियो ।
प्रहरीले कम्पनीका सञ्चालक मालचनकी श्रीमती सुरेन्द्रा, छोरा विवेक र छोरी श्रद्धाविरुद्ध समेत अभियोग  दायर गरेको थियो, पछि उनीहरु सेटिङमा अदालत उपस्थित भएका थिए ।

फ्याक्ट्री मेनेजर प्रमोद मेहता, प्रबन्धक मदनबाबु पाण्डे, प्रोडक्ट मेनेजर ग्याप्रियल टिथापन र क्वालिटी मेनेजर शिवराज पोखरेललाई पक्राउ गरी मुद्दा दायर गरिएको उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत ऋषि गाडिय, फ्याक्ट्री मेनेजर रोहति भट्टराई र क्वालिटी अफिसर जगदीश पाण्डेलाई पनि  सेटिङमा अदालत उपस्थित गराइएको थियो ।

जिल्ला अनुगमन समितिका संयोजक रहेका काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल नेतृत्वको टोलीले म्याद नाघेको कच्चा पदार्थबाट जुस बनाएको भेटेपछि उनीहरूलाई पक्राउ गरी कम्पनीमा सील गरेको थियो । पछि लुइटेललाई नै सोही काण्डमा जिल्ला प्रशासन कार्यालयबाट सरुवा गरिएको थियो । ५ वर्षसम्म कैद र बिगोबराबर जरिवानाको मागदाबीसहित मुद्दा दायर भएको थियो ।

तर, गुण तथा खाद्यप्रविधि विभागमा समेत उनीहरुले सेटिङ मिलाएर कम्पनीको पक्षमा रिपोर्ट बनाउन लगाइएको थियो। त्यसैलाई आधार बनाएर अदालतल र सिडिओ कार्यालयले दुगडलाई सफाई दिएको थियो । एक वकिलमार्फत् अदालत, काठमाडौंका सिडिओ केदारनाथ शर्मा तथा खाद्यप्रविधि विभागमा सेटिङ भएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस